नारायणीमा देखिन थाले पाहुना चरा

3.95k
Shares

नवलपरासी। 

मंसिर लागेसंगै नारायणी नदी र यस आसपासकाे क्षेत्रमा पाहुना चराहरू देखिन थालेका छन् । पछिल्लो साता सदरमुकाम कावासोती माथिकाे आकाशमा कराङ कुरूङ कराएको स्थानीयले सुनाए ।

बिहानीको झिसमिसेमै सुनिएको याे आवाजले उहिले पहाडका देवीदेउरालीमा फन्काे मार्ने माल चरीकै सम्झना दिलायाे । यही क्रममा गत केही दिन देखि  चितवन राष्ट्रिय निकुञ्जकाे उत्तर भएर बग्ने नारायणी नदीमा चखेवाका जाेडीहरू देखिन थालेको पिठाैलीका डिल गुरूङले बताए ।

जाडाे लागेसंगै खाेया हाँस, कराङ कुरूङ, जलेवा, सिंन्दुरे हाँस लगायतका पाहुना चराहरू साईवेरिया,चिन तिब्बत,मंगाेलिया देखि नवलपुरका सिमसार र नदी आसपास आईपुगेका छन् । झण्डै ९ हजार मिटर उचाइ सम्मकाे उडान भर्न सक्ने खाेया हाँस नारायणी र रापती नदीमा बिचरण गर्न आउने तथा रातकाे समयमा बस्ती छेउका धान खेत सम्म पुग्ने पक्षी संरक्षणकर्मी टिकाराम गिरीले बताए ।

गिरीका अनुसार ठूला जलेवाका बथान पनि नारायणी नदीमा आई सकेकाे र ठूलाे संख्यामा रहने जलेवाका झुन्ड एक साथ आहारका लागि नदी छिर्दा अत्तालिएका माछा छाेप्न हाँस, बकुल्लाकाे तैनाथि दृश्य रोमाञ्चक हुने गर्दछ ।

विशेष गरी  यहाँ देखिने अन्य चराहरूमा सिँदुरे हाँस, कैलाे टाउके हाँस, अलकचन्द्र राजपूत्रिका,वनसु सुडिया,बैकाल गैरी र ठूलाे जलरङ्ग आदि रहेकाे पंक्षीविद डिवी चाैधरी बताउँछन् ।

यसै गरी  कलहाँस, सिउरे डुवुल्की चरा,स्वैतमाछा कलहाँस, सिमकुखुरा, ध्वासे सिम कुखुरा, हलिमुखे,जुरे हुटिट्याउ र कालीजुरे हाँस देखिने गरेका छन् ।

नवलपुर क्षेत्रमा जलपंक्षी देखिन थालेसंगै चरा, गोही तथा वन्यजन्तुकाे अवलाेकनका लागि जंगल सफारी तथा डुङ्गा सयर गर्ने विदेशी पाहुनाकाे संख्या पनि बढेको स्थानीय हाेम बहादुर मुसहरले बताए ।