लमजुङ।
चिसो मौसम शुरु भएसंगै लमजुङका लेकमा रहेका भेडीगोठहरु बेसीतिर झर्न थालेका छन् । गर्मी मौसममा लेक र खर्कमा पुगेका भेडीगोठहरु हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडामा झर्ने गर्दछन् ।
पश्चिम लमजुङको घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भुलभुले, र उत्तर पूर्वी लमजुङको ईलमपोखरी, दूध पोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका ग्रामीण क्षेत्रका बासिन्दाहरुका भेडीगोठ रहेका छन् ।
उत्तरपश्चिम लमजुङका भेडीगोठहरु मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । विशेष गरी दूध पोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काख लगायतका ठाउँहरू भेडिगोठको लागि प्रख्यात छन् ।
लमजुङमा भेडीगोठहरु ६ महिना लेक र ६ महिना बेसीमा रहने गर्छ । लमजुङ हिमालको काखमा रमाएर बसेका भेडीगोठालेहरु पर्यटकीय मौसमको सुरुवातसँगै गाउँ झरेका भएपनि गर्मी मौसम शुरुभए पछि उनीहरु पुनः उच्च हिमाली भेगका खर्कहरुमा पुग्ने गर्दछन् । उच्च हिमाली भेगहरुमा राम्रो चरन क्षेत्र र घाँसे मैदान भएको कारण बर्खाको मौसम पारी भेडीगोठ सहित लेक तथा खर्कहरुमा पु¥याउने गरिन्छ ।
जिल्लामा ८० भन्दा भेडीगोठहरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । कार्यालयका अनुसार उक्त भेडी गोठमा २० हजार भन्दा बढी भेडाबाख्राहरु रहेका छन् । जिल्लाका उत्तरी भागमा रहेका भेडीगोठबाट करोड भन्दा बढी आम्दानी हुने गरेको छ । भेडीगोठमा रहेका भेडाहरुको उन तथा मासुबाट करोड भन्दाबढि रुपैया आम्दानी हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा आठसय भन्दा बढी परिवारले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् ।
घुम्ती भेडीगोठमा पालिएका भेडाहरु अधिकाँश पोखरा, काठमाडौँ लगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा शहरमा निर्यात हुने गर्दछ ।
जिल्लामा व्यावसायिक भेडीगोठबाट सम्भावना भएर पनि अपेक्षित आम्दानी हुन नसकेको सरोकारवालाहरुको भनाई छ । भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।
प्रतिक्रिया