कम्प्युटर एशोसियन महासंघ कास्कीको अध्यक्षमा कुँवर निर्वाचित 


कास्की ।

 कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।

क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् ।

यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् । नवनिर्वाचित अध्यक्ष कुँवरले विधानानुसार दुई जना सदस्यहरु गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनीत गरे । निवर्तमान अध्यक्ष दूधमान गुरुङ (आशिष) स्वतः कार्यसमितिमा रहन्छन् ।

युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा एकनारायण चापागाईँ र प्रकाशमान सिंह भण्डारी रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष कुँवर यसअघि संस्थाका प्रथम उपाध्यक्ष थिए । क्यान कास्कीमा १२ वर्ष बढी निरन्तर क्रियाशील कुँवर पोखराको न्यूरोड स्थित कस्मिक कम्प्युटिङ सोलुशन एवं कस्मिक एकेडेमीका सञ्चालक हुन् ।

सूचना प्रविधिको क्षेत्रमा कुँवर दुई दशकदेखि संलग्न परिचित नाम हुन् । कास्कीको अन्नपूर्ण–१ निवासी कुँवर पोखरामै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवद्र्धनमा सक्रिय छन् ।

यसअघि, संस्थाको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको शनिबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । उनले क्यान कास्कीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुसी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

उद्घाटन समारोहमा संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय प्रतिनिधि चिन्तामणि बास्तोला, पोउवा संघका उपमहासचिव सुदीप प्रधनाङ्ग, पूर्व अध्यक्षका तर्फबाट गुणानिधी पाण्डेले बोलेका थिए ।

साधारणसभाको बन्दसत्रमा सचिव महेन्द्र भुर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । अध्यक्ष दूधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए ।

२०६५ सालमा विधिवत् दर्ता भएको क्यान कास्कीको नेतृत्व जगनबहादुर गुरुङ, इबिन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधी पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र दूधमान गुरुङ (आशिष) ले सम्हालिसकेका छन् ।