धादिङको जग्गाको मोठ र नक्सा चितवनतिर, मोठ उता परेपछि महादेवस्थानका चेपाङलाई सास्ती 

विकासका काम धादिङले गर्ने, चितवनले कर मात्र उठाउने 

34.4k
Shares

धादिङ ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने महादेवस्थानका चेपाङ समुदायले ४८ वर्षदेखि दुःख खेप्दै आएपनि यस क्षेत्रबाट निर्वाचित पुराना जनप्रतिनिधिले वास्ता गर्न सकेनन् ।

यस क्षेत्रको जग्गाको मोठ र नक्साको फिल्डबुक चितवन जिल्लाको लोथर गाविसमा नापी गरेर चितवनतर्फ राखेपछि यस क्षेत्रका जनताले सास्ती खेप्दै आएका छन् ।

मासखर्क, सुकभञ्ज्याङ, कान्द्राङगढी गारत, चावा, पार्लाक र बाङकुर्तीको जग्गा २०३२ सालमा नापी गर्दा तत्कालीन लोथर गाउँपंचायत नाम राखेर धादिङका चेपाङ समुदायका जग्गा धादिङ हुनु पर्नेमा चितवनतिर राखिएपछि समस्या भोग्दै आएका छन् ।

तत्कालित महादेवस्थान गाविसको क्षेत्रको जग्गा राष्ट्रिय सिमानाले धादिङ तिर पर्छ । पहिलादेखि धादिङमा नै कान्द्राङगढी रहेको तथ्यहरुमा पाइन्छ महाभारतको सो क्षेत्रमा रहेको ठूलो डाँडाको सिमाना मानेर विकास र नागरिकताका काम भइरहेको छ । तर, मालपोत कार्यालय र नापी कार्यालयले मोठ तथा नापीका कागजपत्र धादिङतर्फ पटक पटक आग्रह गर्दा समेत नदिएकोले यस क्षेत्रका नागरिकहरुले दुःख पाइरहेको अवस्थामा अब समस्या समाधानका लागि पहल गर्न लागिएको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेलले बताए ।

पार्लाकका दिलबहादुर र बिरबहादुर चेपाङ आफ्नो हजुरबुबा शंखबीर चेपाङको नाममा नापी भएको जग्गाको तिरो तिर्न, कारोबार गर्न चितवन जानु पर्दा समयको खर्च भएको, काम सबै धादिङ भएको र चितवनलेका सरकारी निकायले धादिङ क्षेत्र परेको भन्दै बेवास्ता गर्ने भएकोले हजुरबुबादेखि नै दुःख पाएको बताए ।

मासखर्कका कृष्णबहादुर चेपाङभने बाटो चितवनले धादिङ भनेर नखन्ने, विजुलीबत्ती धादिङबाट दिन्छ । बेनिघाटरोराङ गाउँपालिकाले चेपाङले प्रयोग गर्ने मिटर समेत नि:शुल्क उपलब्ध गराएको छ।  तर, चितवनतिर जग्गा परेकोले समस्या भयो भन्दा यस अघि कसैले सुनेन । जनताको समस्या सुनेर सरकारसम्म खबर पुर्याउन र सीमा क्षेत्रमा बस्ने धादिङका चेपाङहरुको लागि काम गरिदिन आग्रह गरे । बुधबार धादिङको बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेलको उपस्थितिमा सो क्षेत्रका पीडित चेपाङहरुले भेला नै गरेर आफ्नो जग्गाको मोठ र नापीका कागज धादिङ सारिदिन माग गर्दै मुचुल्का उठाएका छन् । उनीहरुको माग विकासका सबै काम धादिङले गर्ने, तर चितवनको बैँक आउन नमान्ने, जग्गा भागबन्डा गर्न समेत चितवनले नमान्ने तर, कर मात्र उठाउने गरेकोले यस किसिमको कार्य बन्द गरी  जनताको लागि सहज वातावरण बनाउन २०४९ सालका वडा सदस्य समेत रहेका हस्तबहादुर चेपाङले बताए ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को क्षेत्रमा रहेको तर रापती नगरपालिकामा पारिएको लोथर ४ क को तिन सिट, ५ ख को १ सिट, ४ ख को २ सिट, गरी  करिब २ सय कित्ता जग्गा रहेको छ ।

बागमति अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं. ४ को ठेगानामा नापी भएको थियो । पछि लोथर गाउँ पंचायत चितवन जिल्लामा पर्यो । अहिलेको सीमा क्षेत्रमा  रहेको  हाल सो क्षेत्र रापती नगरपालिका वडा नम्बर १३ मा पर्छ ।

एतिहासिक कान्द्राङगढीमा भेला भएका पीडित चेपाङ, स्थानीय राजनीतिक दल र संचारकर्मीहरु समक्ष चेपाङ समुदायले आफूहरुको हक कायम धादिङबाट मात्र भएकोर धादिङ पहिलादेखि नै जग्गा परेकोले मोठ पनि धादिङ कायम गर्नका लागि माग गरेका छन् ।

सो क्षेत्रमा बसोबास गर्ने चेपाङ समूदायमा खाने अन्न र खानेपानी छैन ।  चरम अभाव र गरिबीमा बाँचिरहेकाहरुको लागि सरकारले काम गर्नु पर्नेमा ४८ वर्षदखि नै हक छिनिएकोले चेपाङ समूदायका लागि आफूले न्याय दिनका लागि काम गर्ने र जनताको गुनासो बोकेर सरकारका निकायमा पुग्ने वडा अध्यक्ष भुजेलले बताए ।