काठमाडौं ।
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण विगतमा भएका सम्झौता कार्यान्वयनका लागि जोड दिने विषयमा छलफल भएको बताएको छ।
नेकपा एमालेको शनिवार बसेको सचिवालय बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने विषयको बारेमा छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
डिसेम्बरको पहिलो हप्ता हुने भनिएको भ्रमणमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएको उच्चस्तरीय समझदारी र नेपालका तत्कालीन राष्ट्रपति र प्रधानमन्त्री चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमा जोड दिइने उहाँले जानकारी दिनुभयो ।
शनिवार बसेको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिको बहावको बारेमा गम्भीर छलफल गर्दै चीन र भारतसँगको असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन सुझाव दिएको छ । त्यस्तै, प्रधानमन्त्रीको चीन भ्रमण राष्ट्रिय हितमा रूपान्तरित गर्न सरकारलाई सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।
चीन सरकारको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा समेत दुई देशका नेताबीच छलफल हुने बताइएको छ । नेपालले चीनको ऋण सहयोगमा निर्माण भएको उक्त विमानस्थलको बारेमा नेपालले आफ्नो धारणा राखोस् भन्ने चाहना चिनियाँ पक्षले लिएको बताइएको छ । शनिवार नै बसेको एमाले सचिवालय बैठकले मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीलाई पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको छ । त्यो प्रश्नको कानुनी निरूपण नभएसम्म कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेकाले सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गर्ने निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया