गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : चार विमान कम्पनीको उडान तय, एयर अरेबियालगायतका कम्पनी पनि आउन इच्छुक

8.84k
Shares

बुटवल।

निमार्ण सम्पन्न भएको लामो समय सम्म अन्तर्राष्ट्रिय उडान भर्न नपाएर निकै चर्चामा  रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बल्ल सार्थकता पाउँदै गएको छ । काठमाडौँ बाहिर दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि प्रयोगमा नआउँदा घाटामा चल्दै आएका थिए । अब भने बिस्तारै अन्तर्राष्ट्रिय उडान हुने भएसँगै सार्थकता पाउन थालेको हो ।

यसअघि नै थाई एयर एसिया, कुवेतको जजिरा एयरवेज र यूएईको फ्लाइ दुबईले नियमित उडान भर्ने तय भएकामा नेपाल एयरलाइन्सले पनि नियमित भैरहवा–दुबई उडान भर्ने भएको हो ।

नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि नै भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ । 

अन्य उडानहरुमा थाई एयर एसियाले कार्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको जनाइएको छ ।