पूर्णबहादुरको सारंगी माटोको कथा


काठमाडौं ।

आगामी १५ गते रिलिज हुने फिल्म पूर्णबहादुरको सारंगीको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा गन्धर्व समुदायको पुख्र्याैली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्धर्व भएकै कारण उनीहरूलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देखाइएको छ।

सरोज पौडेलको कथा र निर्देशनमा बनेको फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतले अभिनय गरेका छन्।

सेभेन सिज सिनेमा र बा“सुरी फिल्म्स्को ब्यानरमा विनोद पौडेल र प्याट्रिक सुवेदीद्वारा निर्मित फिल्ममा संगीत प्रशान्त शिवाकोटी, सारंगी हेमन्त कान्छा रसाइली तथा स्वर प्रशान्त शिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको रहेको छ।

फिल्मको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले दंग छन्। ‘यसपटक अझ बढी खुसी छु। आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ। कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ,’ उनी भन्छन्। दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्र र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनले बताए।

‘मलाई टिजर र ट्रेलरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोसनले पनि धेरैको ध्यान तानेजस्तो लाग्छ। मलाई धेरैले व्यक्तिगतरूपमा त्यही प्रतिक्रिया आइरहेको छ। ट्रेलर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइएको छ,’ विजयले भने।

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए। ‘हामीले फिल्ममा जे कुरा भन्दैछौँ, टिजर र ट्रेलरमा जे देखाएका छौँ, वास्तवमा यो हामी आम निम्नमध्यम वर्गीय परिवारका नेपालीको कथा हो,’ निर्देशक पौडेलको भनाइ थियो ‘धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटनाजस्तो आभास हुन्छ होला।’

फिल्म गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको निर्माता पौडेलले बताए। फिल्ममा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल कार्यकारी निर्माता रहेका छन्।