गुन्यू चोलो अमेरिकाको मार्केटमा


काठमाडौं ।

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्मित फिल्म गुन्यू चोलो अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटका लागि छनोट भएको छ।

महिला निर्देशक समुन्द्र भट्टद्वारा निर्देशित फिल्म गत साताबाट अमेरिकाको सियाटलमा आयोजित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो। जहा“ अमेजन एमजीएम स्टुडियो, पिलर्स फन्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्यान्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था सहभागी छन्।

यस वर्षदेखि फिल्म मार्केट पनि शुरू गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोत प्रदान गर्ने उद्देश्य राखेको छ।

फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई ओस्कारयोग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा हेर्दै फिल्म निर्माताका लागि यो महत्वपूर्ण अवसर हुने बताएकी छन्। गुन्यू चोलोमा नाजिर हुसेन मुख्य भूमिकामा छन्। फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।

फिल्ममा नाजिरका साथ सञ्चिता लुईंटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतले अभिनय गरेका छन्। निर्देशक भट्टले आधा पेजपछि यो फिल्म निर्देशन गरेकी हुन्। फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको जनाइएको छ।

फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। लिजाले २०२४ कै बहुप्रतीक्षित हलिउड फिल्म ग्ल्याडिएटर– २ मा स्वर दिएकी छिन्।

फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी छ। सी, :मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ। फिल्म फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी गराएकी छन्।