पूर्णबहादुरको सारंगीको भिडियो प्रतियोगिता


आगामी कातिक १५ गते रिलिज हुने फिल्म पूर्णबहादुरको सारंगीले भिडियो प्रतियोगिता गर्ने भएको छ। अभिनेताद्वय विजय बराल र प्रकाश सपूतद्वारा अभिनित फिल्मको निर्माण टिमले मेरो बाको संघर्ष नाम दिँदै बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीले आफ्नो बुवाको संघर्षको बयान गर्दै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवादको तीन मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्नेछ।

भिडियो प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने फिल्मको निार्माण समूहले जानकारी गराएको छ। यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन। सहभागीले भिडियो कातिक ८ गतेसम्म पठाइसक्नुपर्ने जनाइएको छ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशका साथमा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतले अभिनय गरेका छन्।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्स्को प्रस्तुति रहेको फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्।