मुस्ताङ–तिब्बत कोरला नाकामा पहिलोपटक टेलिकमको बिटिएस टावर जडान


म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङ र चीनको तिब्बतस्थित सिमाना कोरला नाकामा पहिलोपटक नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा टेलिकमको टावर स्थापना गरी मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको हो । 

नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाले संरचना निर्माणमा सहयोग गरेपछि टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा पर्ने कोरला नाकामा नेपाल टेलिकमको टुजी र फोरजी टावर हाल सोलारको सहायतामा चल्ने गरी जडान गरेर सञ्चालनमा ल्याइएको टेलिकम बागलुङका प्रमुख सन्तोष बरालले जानकारी दिए । 

तत्कालका लागि सोलारमार्फत टेलिकमको बिटिएस टावर स्थापना गरी सञ्चालन गरिएको भए पनि हाइब्रिड रेक्टिफायर जडान गरिएकाले निकट भविष्यमा विद्युतमार्फत टावर सञ्चालन गर्न सकिने प्रमुख बरालले बताए । नयाँ जडान भएको टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते वाइफाई समेत चलाउन सकिन्छ । पोल टावर तथा क्याबिनेट शेडबेसलगायत संरचनाको निर्माण कार्यमा लोमान्थाङ गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराएको थियो । 

कोरला नाकादेखि करिब ३ किलोमिटर तल टेलिकमको बिटिएस टावर स्थापना गरी सञ्चालन गरिएको छ । यस टावरले ५ किलोमिटर दूरी आसपासको क्षेत्रसम्म सजिलै काम गर्ने टेलिकमका प्राविधिकहरुले बताएका छन । मुख्य गरी कोरला नाका क्षेत्रलाई फोकस गरेर टेलिकमको टावर जडान गरेर स्थापना गरिएको टेलिकमले जनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले कोरला नाकामा पहिलोपटक टेलिकमको टावर विस्तार गरिएको बताउँदै यसबाट कोरला नाकाको भ्रमण तथा अवलोकनमा पुग्ने जो कोही पर्यटक, सुरक्षाकर्मी, उद्योगी, व्यापारी तथा अन्य सर्वसाधारणलाई समेत सहयोग पुग्ने बताए । 

कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना गर्नको लागि मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले विशेष चासो देखाएका थिए । यसका साथै नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकम बागलुङ तथा मुस्ताङबाट पनि टावर जडानको पहल भएको थियो ।  

कोरोना भाइरस र लकडाउनको कारण यसअघि बन्द भएको कोरला नाका गतवर्ष कात्तिक महिनाको २७ गतेबाट पुनः सञ्चालनमा आएको हो । कोरला नाकामा गएको वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पनि विस्तार भएको छ । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण गरिएको एकीकृत भवनमा खासगरी राजश्व सङ्कलन तथा सुरक्षा निकायको कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ । 

मुस्ताङ–तिब्बत कोरला नाकामा विशेष गरी मुस्ताङको पाँचवटै गाउँपालिकाका स्थानीयवासीहरु सामान खरिद–बिक्री गर्नको लागि आवतजावत गर्ने गर्दछन् । टेलिकमको टावर सञ्चालनमा आएसँगै अब सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रको चिनिया भूमिमा भने यसअघि नै चीन सरकारले सञ्चार, सुरक्षा, खानेपानी, राजश्व सङ्कलन, क्वारेन्टाइनलगायत अत्यावश्वक संरचनाहरु निर्माण गरिसकेको छ ।