वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

1.5k
Shares

काठमाडौं ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् ।

पक्राउ मध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।


उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।