अफ्रिकी मुलुकसँगको व्यापारलाई तीव्रता दिँदै चीन

282
Shares

विश्व अर्थतन्त्रमा पहिलो हुने तयारीमा रहेको चीनले पछिल्लो समय अफ्रिकी मुलुकसँगको व्यापारलाई पनि अघि बढाएको छ ।


सन् १९९० को दशकपछि विश्व समुदाय अघि देखा परेको चीनले प्रविधिका साथै अन्य क्षेत्रको विकासमा छलाङ नै मारेको छ । विश्वमा आफ्नो प्रभुत्व कायम गर्ने दाउमा रहेको चीनले अफ्रिकी मुलुकको विकासमा साझेदार मात्र बनेको छैन व्यापारमा समेत आफूलाई प्रमुख हिस्सेदारको रूपमा अघि बढाएको देखिन्छ ।

अफ्रिका महादेशका ४० वटा मुलुकमा आफ्नो प्रभाव बढाउँदै लगेको चीनले एक वर्षमा ती देशसँग २२० अर्ब अमेरिकी डलरबराबरको व्यापार गरेको बताइएको छ । पछिल्ला दुई दशकमा चीनले अफ्रिकासँगको व्यापारमा व्यापकरूपमा वृद्धि गरेको र यो शिलशिला बढ्ने क्रममा रहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।

चीनले अफ्रिका महादेशभरि सडक, रेल्वे तथा बन्दरगाह निर्माणमा अर्बौं रुपियाँ खर्च गरेको छ । चीनले यो काम चीन–अफ्रिका सहकार्य मञ्च (फोकाक) मार्फत् अफ्रिकी महादेशका ४० राष्ट्रमा ५० अर्ब अमेरिकी डलर सहयोग गर्दै आएको छ । यसमा सैन्य सामग्री पनि सामेल भएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

चीनले सन् २०२२ मा मात्रै अफ्रिकामा ५ अर्ब डलर लगानी गरिसकेको छ । चीनले त्यो लगानी नयाँ यातायात सञ्जाल, ऊर्जा केन्द्र निर्माण र खानीहरूको विकास तथा बन्दरगाहमा गरेको हो । चीनले ती मुलुकबाट तेल र खनिज पदार्थ आयात गर्दै आएको छ भने आफ्ना देशमा निर्मित बस्तु निर्यात गर्दै आएको छ ।

वल्र्ड इकनोमिक फोरमका अनुसार अफ्रिकामा अहिले चीनका ३ हजारभन्दा बढी व्यापार व्यवसायमा लगानी रहेको छ । चीनले अफ्रिकामा ऋण लगानी पनि मनग्य रूपमा गर्दै आएको छ । चीनलाई अफ्रिकीहरूले तिनुपर्ने ऋण १ खर्ब ३४ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । अफ्रिकी मुलुकले विश्वबाट लिएको ऋणमध्ये २० प्रतिशत हिस्सा चीनले ओगटेको छ ।

चीनले बनाइदिएका पूर्वाधारको ऋण तिर्न अफ्रिकी देशलाई गाह्रो परेपछि पछिल्लो समय चीनको ऋण प्रवाहमा कमी आएको यूनिभर्सिटी अफ लन्डनस्थित प्राध्यापक स्टिभ सङले दाबी गर्नुभएको छ । अफ्रिकी मुलुकलाई ऋण उपलब्ध गराउने चिनियाँ ऋणदाता हिजोआज निकै सजग देखिन थालेका छन् । उनीहरूले मुनाफा आउने परियोजना हेर्न थालेको प्राध्यापक स्टिभले दाबी गर्नुभएको छ ।

अफ्रिका महादेश क्षेत्रफलको हिसाबले एसिया महादेशपछि विश्वको दोस्रो ठूलो र दोस्रो धेरै जनसंख्या भएको महादेश हो । यो महादेशको जनसंख्या १ अर्ब २७ करोड ५९ लाखभन्दा बढी छ । यो महादेशको क्षेत्रफल ३.०३ करोड वर्ग किलोमिटर अर्थात् १ दशमलव १७ करोड वर्ग माइल रहेको छ । यसले पृथ्वीको २० प्रतिशत भूभाग ओगटेको छ । जनसंख्याको हिसाबले अफ्रिका महादेशमा विश्वको कुल जनसंख्याको १८ प्रतिशत मानिसको बसोवास रहेको छ ।