विपत्ति रोक्न गौरीशङ्कर (छिरिङमा) को पूजा ! 

658
Shares

दोलखा।

गौरीशङ्कर (स्थानीय नाम छिरिङमा) र घोरा (भैरव) रिसाएको भन्दै दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ बेदीङवासिले १६ दिनसम्म क्षमा पूजा गरेका छन् । 

रोल्वालीङ क्षेत्रमा बाढी– पहिरोले क्षति पुु¥याएको र च्छो– रोल्पा हिमताल समेत फुट्ने जोखिम रहेकोले बेदीङ स्थित साङछोली गुम्बामा १६ दिनसम्म क्षमा पूजा गरिएको स्थानीय पर्यटन व्यवसायी दावाछिरी शेर्पाले बताए ।

साङछोली गुम्बाका प्रमुख लामा ङावाङ तेन्जिङ लामा रिम्पुछेको अगुवाइमा २१ जना लामाहरुले मन्त्रोच्चारण गर्दै १६ दिनसम्म क्षमा पूजा गरेका थिए ।

केही समय अघि अविरल वर्षाका कारण आएको बाढी– पहिरोमा परी रोल्वालिङ क्षेत्रमा रहेको महादेव थान (स्थानीय नाम छिरीङ्मा थान) र घोराको मन्दिरमा क्षति पुगेको थियो भने रोल्वालीङ खोलामा रहेको विभिन्न ठाँउको पुल बगाउनुका साथै वडा नम्बर– ९ डोगाङमा एक जना होटल व्यवसायी महिला बेपत्ता भएकी थिइन । बेपत्ता ६० वर्षीय जाङ्मु शेर्पा अझै फेला पर्न नसकेको स्थानीयले बताएका छन् । 

बाढी पहिरोको कारण अहिले पनि च्छो– रोल्पा हिमताल पुग्ने पर्यटक र रोल्वालिङका स्थानीयलाई आवत– जावतमा समस्या भएको छ ।
नवौँ- दशौ शताब्दीमा रोल्वालीङ क्षेत्रको ना गाँउमा गुरु रिम्पुछेले मेरीटेशन गरेको पवित्र भूमिमा अहिले अव्यवस्थित बढ्दै गई छिरीङ्मा र घोरा रिसाएको स्थानीयको विश्वास छ । 

रोल्वालीङ क्षेत्रको भूमी देवता छिरीङ्मा र घोरा खुसी भए प्राकृतिक विपत्ति नआउने र विश्वमा शान्ति समेत कायम हुने विश्वासका साथ २१ जना लामाहरुले १६ दिनसम्म क्षमा पूजा गरेको दावाछिरीको भनाई छ । अब कार्तिक महिनामा समेत क्षमा पूजा हुने दावाछिरीले बताए ।