एक पटक ४० सहसचिवको सरुवा

छोटो सयममै सहसचिव फेरबदल हुँदा प्रशासन अस्थिर


–काठमाडौं र पोखरा महानगरपालिकाका कार्यकारी फेरिए

काठमाडौं ।

सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ। केही दिन अघिमात्रै ५९ जना सहसचिवको सरुवा गरेको सरकारले फेरि ४० जना सहसचिवको एकैपटक सरुवा गरेको छ। गत बिहीबारको मन्त्रिपरिषद्ले सहसचिव सरुवाको निर्णय गरेको भनिए पनि सहसचिवको सरुवा सूची भने आइतबारमात्रै सार्वजनिक गरिएको हो।

सरकारले सहसचिव सरुवामा कुनै स्पष्ट नीति र मापदण्ड बनाउन सकेको छैन। सहसचिवहरू राजनीतिक निकटताका आधारमा सरुवा हुने गरेको आरोप लाग्दै आएको छ। केही सहसचिवहरूको दुई तीन महिनामा नै सरुवा भएकाले त्यस्ता सरुवा हचुवामा हुने गरेको आरोप लाग्ने गरेको छ। यसरी नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने सहसचिवको सरुवा हचुवाका आधारमा छिटो छिटो हुँदा प्रशासन अस्थिर बन्न पुगेको स्रोतको दाबी छ।

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको पनि सरुवा गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग निकट रहेर काम गरिरहनुभएका परियारलाई सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो ।

परियार गत माघमा काठमाडौं महानगरमा जानुभएको थियो । उहाँको ८ महिनामा नै सरुवा भएको छ । सरकारले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको छ ।

यस्तै सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्यालको पनि तीन महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यसै गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको पनि सरुवा भएको छ।

सो विभागको महानिर्देशक बनाउने उद्देश्यसहित राजीव पोखरेललाई मधेस प्रदेशको उद्योग मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लगिएको छ। यसै गरी गृहमन्त्रालयमा ५ जना सहसचिवहरूलाई ल्याइएको छ। जसअनुसार गृह मन्त्रालय आउने सहसचिवहरूमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव उमेशकुमार ढकाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्द रिजाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र शिक्षा मन्त्रालयका सुमन घिमिरे रहनुभएको छ।

यसै गरी रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
केही सहसचिवहरूको छोटो समयमा नै सरुवा भएको भन्दै सरुवामा असन्तुष्टि व्यक्त गरिएको छ। गृहमन्त्रालयबाट केही सहसचिवहरू बाहिरिने चर्चा चले पनि जम्मा एकजना सहसचिवमात्रै गृहबाट बाहिरिनुभएको छ। यसै गरी पोखरा महानगरपालिकामा शिवराज चौलागाईंलाई पठाइएको छ भने जितपुर सिमरा उपमहानगरपालिकामा वीरेन्द्रदेव भारतीलाई पठाइएको छ।