किशोरावस्थाको प्रेम कथा भन्ने ‘एलेनोर एण्ड पार्क’

658
Shares

एलेनोर एण्ड पार्क (Eleanor & Park) अमेरिकी लेखक रेनबो रोवेल (Rainbow Rowell)  द्वारा लिखित एउटा चर्चित रोमान्टिक उपन्यास हो । यस उपन्यासमा किशोरावस्थाका  एलेनोर र पार्कको असामान्य प्रेम कथालाई चित्रण गरिएको छ । यस उपन्यासमा किशोरावस्थाको जीवनको संघर्ष, पारिवारिक समस्या र प्रेमको भावनालाई गहिराइमा पुगेर आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । 

रेनबो रोवेल विशेषगरी किशोर तथा युवाहरु माझ ज्यादै लोकप्रिय अमेरिकी लेखिका हुन् । उनी किशोर तथा युवाहरु बिचको सम्बन्ध, मित्रता, प्रेम र चुनौतीहरूको जीवन्त चित्रण गर्न खप्पिस छन् । यसले गर्दा उनी युवाहरुका विच लोकप्रिय साहित्यकारका रुपमा परिचित छन् ।

एलेनोर एण्ड पार्क, फानगर्ल (Fangirl)  क्यारी अन (Carry On) युवा पुस्ताले धेरै रुचाइएका उनका साहित्यिक कृति हुन् । यी पुस्तकहरूमा किशोर किशोरीहरूको भावनात्मक संघर्ष र सामाजिक विषय बस्तुलाई  संवेदनशील तरिकाले प्रस्तुत गरिएको छ । क्यारी अन युवा पुस्ताले धेरै रुचाएको फ्यान्टासी साइन्स फिक्सन हो ।

रेनबो रोवेलको लेखनमा प्रायः प्रेम, मानसिक स्वास्थ्य र आत्मखोजका विषयवस्तुहरूलाई गहिराईमा पुगेर विश्लेषण गर्ने प्रयास गरिएको हुन्छ । उनी पाठकको मनमा गहिरो प्रभाव छोड्ने कथा र पात्रहरुको छनौट गर्छिन् ।

एलेनोर एण्ड पार्क उपन्यासको एक प्रमुख पात्र एलेनोर कथाको परिवेसमा एक अनौठो व्यक्तित्वकी छ । उ सामान्य किशोरी जस्तो देखिन्न । किनभने उ मोटी छ, उसको कपाल रातो छ र उ धेरै पुराना कपडा लगाउँछे । आफ्नो जटिल पारिवारिक जीवनका कारण उ भावनात्मक रूपमा कठिनाईमा परेकी हुन्छे । उसको सौतेलो बुवा निकै हिंस्रक स्वभावको छ र उसकी आमाले पारिवारिक समस्याको सामना गरिरहेकी हुन्छे । यसले गर्दा एलेनोरले आफ्नो जीवनमा निकै नै चुनौतीको सामना गर्नु परिरहेको हुन्छ । 

उपन्यासको अर्को प्रमुख पात्र पार्क भने कोरियाली अमेरिकी परिवारको शान्त, आत्मविश्वासी र संगीतप्रेमी किशोर हो । पार्कको जीवनमा संगीत र कमिक्सका किताबहरूले ठूलो स्थान ओगटेको पाइन्छ । उ एक सामान्य परिवारमा हुर्किएको छ । उ आफ्नो जीवनमा सामान्य खुसीका क्षणहरूको खोजिमा रहेको हुन्छ । उ एलेनोर जस्तो अलि अनौठो छैन र उसले सामाजिक तथा मनोबैज्ञानिक चुनौतिहरुको सामना गर्नु परिरहेको छैन । तर पनि उ आफ्नो पहिचानका लागि संघर्ष गरिरहेको हुन्छ । 

उपन्यासको आरम्भमा एलेनोर र पार्क स्कुल  बसमा पहिलो पटक भेट्छन् । पहिलो भेटमा, उनीहरूको सम्बन्ध राम्रो हुँदैन । पार्कले एलेनोरलाई बेवास्ता गर्ने कोशिस गर्छ । तर, समयसँगै उनीहरूको बीचमा मित्रता बढ्न थाल्छ । पार्कले एलेनोरलाई आफ्नो कमिक्सका पुस्तकहरु  पढ्न दिन्छ । उनीहरु बिच विस्तारै निकटता बढ्दै जान्छ । उनीहरुको आपसी सम्बन्धले गाढा रुप लिदै अन्तत प्रेममा परिणत हुन्छ । उनीहरू एक अर्काको भिन्नता र भावनाहरूलाई बुझ्न थाल्छन् । उनीहरु आपसमा आफ्ना आन्तरिक भावनाहरू बाँड्न थाल्छन् ।

उपन्यासमा प्रेमको गहिरो भावनालाई मात्र नभएर किशोरावस्थाका समस्याहरूलाई पनि चित्रण गरिएको छ । एलेनोरको पारिवारिक जीवन अत्यन्तै तनावपूर्ण देखाइएको छ भने अर्कोतिर पार्कको परिवारको संस्कृति र परम्परासँग मिलेर जाने प्रयासलाई पनि चित्रण गरिएको छ । आ-आफ्ना परिवार भित्रका संघर्षहरूले उनीहरूको सम्बन्धलाई थप बलियो बनाएको पाइन्छ ।

एलेनोरको सौतेलो बुवाको व्यवहारका कारण एलेनोर निरन्तर असुरक्षित महसुस गर्छे । यसले गर्दा पार्कसँगको आफ्नो सम्बन्ध पनि धरापमा परेको महसुस गर्छे । एलेनोरको जीवनमा एकमात्र आशाको केन्द्र उसको प्रेमी पार्क भएको हुन्छ । पार्कले एलेनोरलाई माया गर्ने, उसको दुःखलाई बुझ्ने एलेनोरलाई सुरक्षा दिने चाहनाले उनीहरूको सम्बन्ध अझ गहिरो बन्छ ।

उपन्यासमा प्रेम मात्र नभएर, सामाजिक मुद्दाहरू पनि राम्ररी उठाइएको छ । उपन्यासमा लेखिकाले किशोरहरूको जीवनमा सामाजिक दबाब, दुर्व्यवहार र पहिचानको खोजीलाई चित्रण गर्ने प्रयास गरेकी छन् । 

एलेनोर र पार्कको प्रेमकथा सामान्य र सरल देखिए यसले दिने अर्थ गहिरो छ । यस उपन्यासले किशोरावस्थाका अनेकौं समस्याहरूलाई उजागर गरेको छ । पारिवारिक समस्या, सामाजिक अस्वीकार्यता र सांस्कृतिक भिन्नताहरूको बीचमा पनि प्रेमले कसरी मानिसलाई एकजुट गर्न सक्छ भन्ने कुरा यस उपन्यासमा देखाउन खोजिएको छ ।

https://archive.org/details/eleanor-park/page/n243/mode/2up