सर्वाधिक महँगा ट्रान्सफर फी लिएका नेयमार

34.22k
Shares

नेयमार डा सिल्भा सान्तोष जुनियर अर्थात् नेयमार। असाधारण फुटबल खेल्ने ब्राजिलियन फुटबलर नेयमार हाल साउदी अरेबियाली घरेलु फुटबल लिग अल हिलालमा आबद्ध छन् । सन् १९९२ फेब्रुअरी ५ मा ब्राजिलको मोजी डस क्रुजिसमा जन्मेका नेयमारले आफ्नो जीवनको पहिलो फुटबल खेल सन् २००३ बाट शुरू गरेका थिए ।

त्यतिबेला मात्र ११ वर्षका नेयमार सोही वर्ष ब्राजिलकै एक क्लब सान्तास युथ टिमबाट खेल्ने मौका पाएका थिए । उनको खेलबाट सान्तास क्लबका म्यानेजर यति प्रभावित भए कि उनलाई सान्तास क्लबकै सिनियर टिममा समावेश गरियो । योसँगै नेयमारले सन् २००९ मा १७ वर्षको कलिलै उमेरमा व्यावसायिक फुटबल करियरको सुरुवात गरे । डेब्यू गरेको दुई वर्षपछि सन् २०११ र २०१२ को सिजनमा उत्कृष्ट साउथ अमेरिकन फुटबलरजस्तो ठूलो अवार्ड पनि हासिल गर्दै उनी आफ्नो टिमको एक महत्वपूर्ण गोलकर्ताको रूपमा स्थापित भए ।

नेयमारले एफसी सान्तास युथ क्लबका लागि २ सय २५ म्याचमा कुल २६ गोल गरे । त्यसो त नेयमारको खेल देखेर १४ वर्षकै उमेरमा स्पेनको रियल मेड्रिड क्लबले आफ्नो जुनियर टिमबाट खेल्न प्रस्ताव गरेको थियो । तर, उनको असाधारण खेलको मूल्याकंन गरेको एफसी सान्तासले उनलाई रियल मेड्रिडमा पठाउन मानेन् ।

नेयमारलाई धेरै पैसा दिएर सान्तासले आफ्नै टिममा रोकेर राखेको थियो । उनले एफसी सान्तासबाट नै राम्रो प्रदर्शन गर्दै गए । नेयमारको खेल देखेर अचम्मित भएका संसारका सबैजसो ठूला फुटबल क्लब उनलाई आफ्नो टिममा राख्न मरिहत्ते गर्न थाले । त्यसै समय २७ मे सन् २०१३ मा स्पेनको बार्सिलोना फुटबल क्लबले उनलाई ७६ मिलियन डलर ट्रान्सफर शुल्क तिरेर अनुबन्धित गर्न सफल भयो । त्यतिमात्र होइन, उनले वार्षिक तलब ३० मिलियन यूरोसमेत पाए ।

सन् २०१६ को रियो ओलम्पिक फुटबलको फाइनलमा ब्राजिलले स्वर्ण पदक जितेको थियो । विश्व फुटबल जगतमा ब्राजिलले जित्न बाँकी रहेको एकमात्र पदकका रूपमा लिइएको सो उपाधि जिताउन आफ्नो कप्तानीमा नेयमारले उल्लेखनीय भूमिका खेलेका थिए । त्यतिमात्र होइन, उनी विश्वकै महंगा खेलाडीको रूपमा समेत परिचित छन् । नेयमारको खेल्ने शैली देखेर सन् २०१७ मा फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अहिलेसम्मकै सबैभन्दा बढी ट्रान्सफर शुल्क तिरेर आफ्नो बनायो । उनको ट्रान्सफर शुल्क २ सय २२ मिलियन यूरो अर्थात् नेपाली ३ अर्ब रुपैयाँ थियो । साथै उनले वार्षिक ४३ मिलियन यूरो पनि प्राप्त गरेका थिए ।

नेयमारले पिएसजीबाट १ सय ७३ म्याचमा १ सय १८ गोल गरेका थिए भने ब्राजिल राष्ट्रिय टोलीबाट १ सय २८ खेल्दा ७९ गोलमा आफ्नो नाम लेखाइसकेका छन् । नेयमार एक सफल खेलाडीका साथै २ सय मिलियन डलरभन्दा बढी आर्जन गर्ने खेलाडी रहेको फोब्र्सले उल्लेख गरेको छ । सन् २०२२ मा त फोब्र्स हाइएस्ट पेड एथ्लिट्स सूचीमा उनी वार्षिक ९५ मिलियन डलर अर्थात् १२ अर्ब नेपाली रुपैयाँबराबर कमाउने खेलाडी भएको सार्वजनिक गरेका थिए ।

नेयमारले पाएका सम्मान र पुरस्कार:

नेयमारले २०११ मा ‘साउथ अमेरिकन प्लेयर अफ द इयर’ पुरस्कार जितेका थिए । नेयमार बार्सिलोना क्लबको इतिहासमा १०० गोल पूरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । सन् २०११ मा सान्तोसका लागि गरेको सानदार गोलका कारण नेयमार फिफा पुष्कास अवार्डको लागि मनोनीत भएका थिए ।

समाजसेवा र फुटबलप्रति गरेको योगदानको कदरस्वरूप नेयमारलाई सन् २०१५ मा ‘फ्रान्सिस्को मोलिना’ पुरस्कार प्रदान गरिएको थियो । सन् २०१७ मा पिएसजीमा स्थानान्तरण हुँदा नेयमारले अहिलेसम्मकै सर्वाधिक ७६ मिलियन अमेरिकी डलर ट्रान्सफर शुल्क लिएका थिए ।