ओलम्पिक स्वर्ण पदक : पूरै सुनको हो कि चाँदी मिसिएको ?

0
Shares

ओलम्पिक खेलमा विजेतालाई दिने स्वर्ण पदक पूरै सुनको हो कि होइन भन्ने धेरैको मनमा जिज्ञासा उठेको हुन्छ ।
सन् १९०० को ओलम्पिक्समा स्पेशल इभेन्ट्समा जित्ने खेलाडीलाई चाँदीमा सुनको लेपन गरिएको पदक दिइएको थियो । यसअघि प्रायःजसो इभेन्ट्समा विजेतालाई कप वा ट्रफी प्रदान गरिन्थ्यो । यो पहिलो ओलम्पिक्स थियो, जहाँ दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई पनि क्रमशः सिल्भर (रजत) र ब्रन्ज (कास्य) मेडल प्रदान गरिएको थियो । त्यतिबेला सबै पदक वर्गाकार आकारका थिए ।

पहिलो विश्वयुद्ध हुनुअघि विश्वमा सुन सस्तो थियो । त्यसैले सन् १९०४ को सेन्ट लुइसमा भएको ओलम्पिक खेलमा पहिलो हुने हरेक इभेन्ट्सका खेलाडीले शुद्ध सुनको पदक पाएका थिए । दोस्रो स्थानका खेलाडीलाई चाँदीको रजत र तेस्रो हुनेलाई तामाको कास्य पदक दिइएको थियो ।

त्यसपछि सन् १९०८ र १९१२ को ओलम्पिक्समा पनि च्याम्पियनले शुद्ध सुनकै पदक प्राप्त गरे । तर पहिलो विश्वयुद्धपछि शुद्ध सुनको चलन समाप्त भएर स्वर्णपदकमा चाँदीमा सुनको लेपन गर्ने प्रचलन शुरू भयो । पहिलो विश्वयुद्धका कारण सन् १९१६ को ओलम्पिक्स रद्द भएको थियो भने युद्धका कारण सुनको मूल्य पनि अकासिएको थियो । यसले गर्दा आयोजक देशले सन् १८९६ मा जस्तै चाँदीमा सुनको लेपन गरिएको पदक वितरण गरेको थियो । पदक पूरै चाँदीले बनाइएको हुन्थ्यो र त्यसमाथि सुनको पातलो लेपन गरेर स्वर्ण पदक बनाइएको थियो ।

आधा किलोको स्वर्ण पदकमा ६ ग्राम सुन
आज पनि ओलम्पिक्समा सन् १९२० कै झै चाँदीमा सुनको लेपन लगाएर दिने चलन प्रचलनमा छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले आधिकारिक रूपमै आधा किलोको स्वर्ण पदकमा कम्तिमा पनि ९२ दशमलव ५ प्रतिशत चाँदी हुनुपर्ने र यसमा न्यूनतम् ६ ग्राम सुन हुनुपर्ने प्रावधान बनायो । रजत र कास्य पदकको तौल पनि आधा किलोकै हुन्छ । यी पदक बनाउँदा डिजाइन गर्नुपर्ने भएकाले फलामको पनि प्रयोग गरिएको हुन्छ ।

(५) डलर पर्ने स्वर्ण पदक

वेल्थ इंस्टा पेजअनुसार पेरिस ओलम्पिक्स–२०२४ मा दिइएको स्वर्ण पदकको मूल्य ९५० अमेरिकी डलर थियो । यो पदक ६ ग्राम सुन र लगभग ५०० ग्राम चाँदीले बनेको थियो । यसअघि टोकियो ओलम्पिक्समा दिइएको स्वर्ण पदकको मूल्य ८०० अमेरिकी डलर थियो । पदकमा चाँदी मिसाउनुको कारण सुन एकदम नरम धातु भएकाले हो । पूरै सुनले बनेको पदक चाँदी र तामाको पदको तुलनामा बढी बिग्रिने भएकाले चाँदीको प्लेटमा सुन लेपेर स्वर्ण पदक बनाउने चलन चलेको बताइन्छ ।
स्वर्ण पदकको मूल्य

खेलाडीका लागि ओलम्पिक्स पदकको बजार मूल्यको भन्दा पनि भावनात्मक मूल्य बढी हुन्छ । ओलम्पिक विजेताका लागि यो अमूल्य नै हुन्छ । तथापि यदि कोही ओलम्पिक विजेताले आफूले पाएको पदक बेच्न चाहेमा उसले यसको मूल्य पाउनेछन् । अक्सन हाउसमा ओलम्पिक पदकको मूल्य यसको बनेको वर्ष, पदकको रंग र पदक विजेताको आधारमा तय गरिन्छ । स्वर्ण पदक २० हजारदेखि ५० हजार अमेरिकी डलरसम्ममा बिक्ने गर्दछ । पुरानो ओलम्पिक पदक भने योभन्दा बढी महँगो मूल्यमा बिक्ने गर्दछ ।

पेरिस ओलम्पिक्स मेदलको मूल्य

पेरिस ओलम्पिक्स–२०२४ मा दिइएको स्वर्ण पदकको मूल्य लगभग १ हजार २७ अमेरिकी डलर भएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ । जसअनुसार ४०÷४० स्वर्ण पदक जितेका चीन र अमेरिकाले स्वर्ण पदकबाटै ४१ हजार ८० डलर कमाएका छन् । यस्तै, रजत पदकको मूल्य लगभग ५३५ डलर र कास्यको मूल्य लगभग १२ डलर रहेको छ । यदि स्वर्ण पदक पूरै सुनको भएको भए यसको मूल्य ४१ लाख १६ हजार १ सय ५० अमेरिकी डलर हुने थियो ।