श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ


कास्की।

पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । 

छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।