आठवटै तौलका एकमात्र च्याम्पियन “प्याकम्यान”

0
Shares

१७ डिसेम्बर १९७८ मा फिलिपिन्सको म्यान्डुवे, सेबु प्रान्तमा जन्मेका व्यावसायिक बक्सिङका विभिन्न आठ तौल डिभिजनमा खेलेर १२ विश्व च्याम्पियनसिपको उपाधि जित्ने पहिलो र अहिलेसम्मकै एकमात्र विजेता हुन् चर्चित मुक्केबाज मेनी पक्याउ ।

सन् १९९५ मा प्रोफेसनल बक्सिङमा प्रवेश गरेका उनी “प्याकम्यान” उपनामबाट समेत परिचित छन् । दुई दशकभन्दा लामो व्यावसायिक बक्सिङ करियरमा ७२ वटा आधिकारिक फाइट खेलेका उनले ६२ वटामा जित हासिल गरेका छन् । जसमध्ये उनले ३९ पटक नकआउटको आधारमा खेल आफ्नो पक्षमा पारेका थिए । त्यस्तै, २३ फाइट अंक आधारमा जितेका उनले ८ वटामा पराजय र २ वटा फाइट बराबरीमा टुंग्याएका छन् । बक्सरमात्र नभएर उनी सत्तारुढ दल पीडीपी–लाबानबाट फिलिपिन्सको संसद्को सिनेटरसमेत हुन् ।

खेलकुदबाट राजनीतिमा प्रवेश गरेका मेनीको बाल्यकाल निकै कष्टकर थियो । उनी धेरै गरीब थिए । चरम अभावमा हुर्केका थिए । फिलिपिन्सको विकट ठाउँमा जन्मेका उनले बाँच्नका लागि निक्कै संघर्ष गरेका थिए । बाल्यकालमा कयौं दिन भोको पेट त कहिले दिनको एकपटक मात्र छाक टार्नु उनको दिनचर्या बनेका थिए । खाना नपाएर कयौं पटक पानीकै भरमा रात काटेका उनले सडकका पेटीमा कागजको बाकसलाई ओछ्यान बनाएर सुत्ने गरेका थिए ।

उनको जीवनीमा आधारित वृत्तचित्र तथा लेखअनुसार पाँच वर्षको कलिलो उमेरमै उनले माछा मार्ने डुंगामा काम गरेको उल्लेख छ । सानैदेखि ठूलो सपना देख्ने उनमा भाग्यले होइन, कडा मेहनतले सपना सार्थक बनाउने हुनर थियो । सायद उनको त्यही आत्मबलका कारण व्यावसायिक बक्सिङ रिङमा उनले ‘मै हुँ’ भन्ने एकसे एक धुरन्धर मुक्केबाजलाई धूलो चटाए । उनले जीवनमा पहिलोपटक आफ्नो परिवारलाई गरीब र फोहोरी भनेर गिज्याउनेलाई पिटेका थिए ।

उनले आफ्नो करियरको सुरुवातको बारेमा बोल्दा विश्व चर्चित मार्सल आटर््स नायक बु्रस लीको नामलाई कहिल्यै छुटाउँदैनन् । वास्तवमा बु्रस लीका ‘डाई हार्ट’ फ्यान उनी ब्रुस लीका चलचित्रबाट प्रभावित भएर नै बक्सिङलाई कर्मक्षेत्र बनाएको बताउने गर्छन् । जुन उनको करियरको टर्निङ प्वाइन्टसमेत बन्यो । बक्सिङमा कडा मेहनत, कठिन मेहनत र मुस्किल मेहनत तीन कुरा धेरै महत्वपूर्ण हुन्छन् ।

यी कुरालाई अनुसरण गर्दै उनले फिलिपिन्सको राष्ट्रिय बक्सिङ टोलीमा स्थान बनाउनुका साथै मात्र १६ वर्षको उमेरमा व्यावसायिक बक्सिङ करियरको सुरुवात गरे । त्यतिबेला मात्र ४ फिट ११ इन्च र वजन ९८ पाउन्ड भएका उनले हरेक फाइटबापत् २ अमेरिकी डलर पारिश्रमिक पाउथे । बक्सिङप्रतिको पागलपन र कडा मेहनतकै परिणाम उनी व्यावसायिक बक्सिङ इतिहासकै एक उत्कृष्ट बक्सर बने ।

उनले एक फाइटबापत ६० मिलियन अमेरिकी डलरसम्म आम्दानी गरे । बक्सिङजस्तो डरलाग्दो खेलका खेलाडी भए पनि व्यक्तिगत रूपमा उनी निकै मनकारी व्यक्ति हुन् । बाल्यकाल र करियरको सुरुवातमा भोगेका दुःखलाई राम्ररी बुझे पनि बक्सिङ खेलेर आर्जेका पैसाले उनले अस्पताल, विद्यालय र गरीबको बासस्थान निर्माणका लागि फन्डमार्फत् रकम सहयोग गर्दै आएका छन् । घरबारविहीन फिलिपिन्सका हजारौं बालबालिकालाई वासस्थानको व्यवस्थाका लागि सहयोग गरेका छन् । उनी फिलिपिन्सका जनतामाझ मसिहाको रूपमा परिचित छन् ।

जसका कारण उनलाई राजनीतिमा प्रवेश गर्नसमेत फिलिपिन्सका जनताले उत्प्रेरित गरेका थिए । उनी सन् २०१० को आमनिर्वाचनमा आफ्नो प्रान्तबाट विजयी हुँदै सांसदसमेत बने । लक्ष्यप्रति केन्द्रित हुने बानी र निरन्तर कडा संघर्ष नै मेनीको सफलताका सूत्र हुन् । उनले आफ्नो सफलताको श्रेय हरेक त्यस्ता व्यक्तिलाई दिएका छन् जसले उनलाई ‘सक्दैन’ भन्ने शब्द प्रयोग गरे ।
प्याकम्यानका केही रोचक कुरा:

उनले विश्वका भिन्दाभिन्दै बक्सिङ संस्था (डब्लूबीसी, डब्लूबीए, डब्लूबीओ, आइबीएफ) को प्रतिस्पर्धामा खेलेर उपाधि जितेका छन्, जुन उनको अद्वितीय उपलब्धि हो । प्याकम्यानले सन् २०१० मा फिलिपिन्सको कागायन डे ओरो सिटीको काउन्सिलरको रूपमा राजनीतिक करियर शुरू गरेका थिए । त्यसपछि उनले २०१६ मा फिलिपिन्सको सिनेटरको रूपमा सेवा गरे ।
प्याकम्यानले बक्सिङबाहेक म्युजिक र चलचित्र क्षेत्रमा पनि प्रयास गरेका छन् । उनले केही म्युजिक एल्बम र चलचित्रमा अभिनय गरेका छन् ।