किशोरावस्थामा यस्तो जुत्ता लगाउनुपर्छ

0
Shares

किशोरावस्थामा शारीरिक विकासको महत्वपूर्ण चरण भएकाले जुत्ता छनोट गर्दा विभिन्न कुरालाई ध्यान दिनुपर्छ । सही प्रकारको जुत्ता लगाउनाले आराम महसुस हुने स्वास्थ्य राम्रो रहने र आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने हुन्छ ।

किशोरावस्थामा खुट्टा तीव्ररूपमा बढ्छन्, त्यसैले जुत्ता आरामदायक र सही आकारको हुनुपर्छ । धेरै टाइट वा धेरै खुकुलो जुत्ता लगाउँदा छाला चिलाउने, फोका उठ्ने र खुट्टा दुख्ने समस्या हुन्छ । त्यसैले जुत्ता किन्दा आकर्षक डिजाइनलाई भन्दा लगाउँदा हलुका, सजिलो हुने र अगाडिको भाग अलिकति खुकुलो हुनेगरी छान्नुपर्छ ।

किशोरावस्थामा शारीरिक गतिविधि धेरै हुने भएकाले खुट्टालाई राम्ररी सपोर्ट दिने जुत्ता छान्नुपर्छ । खुट्टाको तलुवा बलियो र नचिप्लिने खालको हुनुपर्छ । विशेषगरी खेलकुदमा संलग्न हुँदा खुट्टालाई सहज र सपोर्ट हुनेखालको स्पोर्टस सूज लगाउनुपर्छ । जुत्ता छनोट गर्दा जुत्तामा हावा छिर्नेखालको हुनुपर्छ । यसले गर्दा खुट्टा सुक्खा रहन्छ र पसिना तथा दुर्गन्धको समस्या कम हुन्छ ।

किशोरावस्थामा प्रायः फेसनलाई प्राथमिकता दिन मन लाग्छ । यसले उनीहरूको आत्मीवश्वास बढाउनुका साथै आत्मसन्तुष्टि दिन्छ । त्यसैले व्यक्तित्व सुहाउँदो र रुचिअनुरुपको डिजाइन र स्टाइलको जुत्ता लिनुपर्छ । तर, स्टाइलको पछि लागेर आराम र सपोर्टको पक्षलाई बेवास्ता गर्नु भने कदापि हुँदैन ।

किशोरकिशोरीले आफ्नो गतिशील जीवनशैलीलाई ध्यानमा राख्दै, राम्रो ग्रिप भएको जुत्ता लगाउनुपर्छ । यसो गर्नाले खेलकुद, व्यायाम र अन्य गतिविधिमा सहजता प्रदान गर्छ ।

किशोरकिशोरीका लागि मल्टिपर्पस जुत्ता छनोट गर्नु लाभदायक हुन्छ । यसो गर्नाले स्कुल कलेजमा हुने विभिन्न अवसर तथा गतिविधिमा एउटै जुत्ता लगाउन मिल्छ ।

किशोरावस्थाको सक्रिय जीवनशैलीका कारण जुत्ता चाँडै बिग्रिने सम्भावना हुन्छ । त्यसैले किशोरावस्थाका लागि जुत्ता बलियो र टिकाउ छनोट गर्नुपर्छ । राम्रो गुणस्तरको जुत्ता टिकाउ हुनुका साथै खुट्टालाई सुरक्षा प्रदान गर्ने, खुट्टालाई सुख्खा राखी नगनाउने र आरामदायी हुन्छ ।