प्रसिद्ध कालिन्चोक मन्दिर

0
Shares

कालिन्चोक भगवती मन्दिर नेपालको दोलखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर दूरीमा रहेको कुरीबजारसम्म मोटरबाट र त्यहाँबाट करिब १ घण्टाको उकालो पैदलयात्रा गरेर यो मन्दिरमा पुग्न सकिन्छ । कुरीबजारबाट केबुलकारमा मन्दिरसम्म जाने सुविधा पनि छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती पनि रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृंखला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ ।

यो मन्दिर समुद्री सतहदेखि करिब ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको छ । कालिन्चोक मन्दिर हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ मानिन्छ । विभिन्न चाडपर्व तथा विशेष अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस क्षेत्रमा हिउँ परिरहने भएकाले हिउँमा खेल्न युवायुवती पनि प्रसस्त जाने गर्छन् ।

यस मन्दिरमा भक्तजनले पशु वलि, नरिवल वलि र अन्य पूजा सामग्रीका साथै त्रिशुल, घण्टी चढाउने परम्परा रहेको छ । तर त्यसरी चढाइएका घण्टीको संरक्षण तथा व्यवस्थापन भने हुन नसकेको देखिन्छ । चढाइएका घण्टी यत्रतत्र छरिएको देखिन्छन् । जसले मन्दिर परिसरको सुन्दरतालाई पनि बिगारेको छ ।

आलु, कोभी, सिमी, साग, अलैचीजस्ता कृषि उत्पादन, चिज, छुर्पी आदि दुग्धजन्य बस्तु, र भेडाको ऊनका सामग्री आदिका लागि दोलखा जिल्ला प्रसिद्ध भए पनि मन्दिर परिसरमा स्वास्थ्यलाई हानी पुग्ने जंकफुडको बिगबिगी देखिन्छ । आन्तरिक पर्यटक धेरै जाने भएता पनि उनीहरूले स्थानीय उत्पादनमा भन्दा शहरीया अस्वस्थकर वस्तुमा खर्च गर्न बाध्य हुनुपर्दछ । स्थानीय उत्पादनको बिक्री प्रवद्र्धनका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिन्छ ।