हिन्दी गीतमा रमाउँदै नेपाली गायक-गायिका


नेपाली गीत गाउने भारतीय गायकगायिकाको लिस्ट त लामै छ । तर, हिन्दी गीत गाउने नेपाली गायकगायिका पनि कम छैनन्। पछिल्लो समय युट्युबलगायत सामाजिक सञ्जाल र भ्युजका कारण नेपाली गायक गायिकाले हिन्दी गीत गाउन थालेका छन्। उनीहरूको हिन्दी गीत गायनले कलाकारले भाषा भूगोल र संस्कृतिलाई छेक्न नसक्ने पुष्टि गरेको छ।

आनन्द कार्कीको : महेकिसी हवाएँ

गायक आनन्द कार्कीले टिसिरिजको सहकार्यमा एक एल्बमका लागि महेकिसी हवाए“ बोलको हिन्दी गीत गाएका थिए। दुई दशकअघि कार्कीले गाएको सो गीतमा रवि बस्नेतको शब्द रहेको छ भने आनन्दकै संगीत रहेको छ। हुन त उनले हिन्दी गीत गजलबाटै गीत गायनको सुरुवात गरेका थिए। त्यस कारण आनन्द पहिले नै भारतीय दर्शकमाझ लोकप्रिय थिए। आनन्दले नाना पाकेटरको २० रुपियोनामक फिल्मका लागि बेहती जाऐ ऐ जीवनकी धारा बोलको पाश्र्व गीत गाएका थिए। तर, सो फिल्म कारणबस रिलिज भएन।

आनन्द कार्की र मिलन नेवारको कभी मेरे दिलसे

गायक आनन्द कार्की र गायिका मिलन नेवारले युगल स्वरमा मेरे दिलसे बोलको हिन्दी गीत गाएका छन्। दुई महिनाअघिसार्वजनिक गीतमा आनन्दको साथमा मिलन नेवारको स्वर र आनन्दकै शब्द अनि संगीत रहेको छ। प्रेम र रोमान्सले भरिएको यो मन छुने गीतको भिडियोमा आनन्दको स्वर निकै सुहाएको छ। हिन्दी गीत गाउने आफ्नो सोख भएको र हिन्दीमा पनि सुहाएको तथा अहिले युट्युबद्वारा आफ्नो प्रतिभा देखाउने र मार्केटको माग पनि भएकाले फेरि हिन्दी गीत निकालेको आनन्द बताउँछन्।

देविका बन्दनाको बस तेरा नाम

गायिका देविका बन्दनाको स्वर तथा युग भुसालको शब्द र संगीतमा रहेको गीत बस तेरा नाम भारतको प्रतष्ठित जी म्युजिकले उत्पादन गरेको थियो। नेपाललाई संगीतमार्फत विदेशमा चिनाउने हेतुले सो गीत गाएकी देविकाको गीत सार्वजनिक भएपछि उनको चर्चा नेपालमा मात्र नभई भारतमा समेत चुलिएको छ। देविका बन्दनालाई जी म्युजकिले मुम्बईमै बोलाएर उक्त गीत रेकर्ड गराएको थियो। गीतमा बन्दनालाई बलउिडका गायक कुनाल गञ्जावालाले साथ दिएका थिए। गीतमा कान्छाले कान्छीलाई हेर बोलायो, सुसेली हालेर लैबरी लैबरी लैजस्ता नेपाली शब्दसमेत प्रयोग गरिएको छ।

देविका बन्दनाकै अब दिल जरा

गायिका देविका बन्दनाको दोस्रो हिन्दी गीत अब दिल जरा थियो। युग भूषालको शब्द र संगीतमा बनेको यो गीतमा बन्दनाको एकल गायन रहेको छ। गीतको भिडियोमा नेपाली मोडल तथा नायक अनुपविक्रम शाही र भारतीय मोडल पारुल गुलाटी तथा फोटोग्राफर राजुभाइ सुवालले अभिनय गरेका छन्।

अञ्जु पन्तको जिन्दगीके राहोमें

गायिका अञ्जु पन्तको स्वर र गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको हिन्दी गीत जिन्दगीके राहोमे दश महिनाअघि सार्वजनिक भएको थियो। गीतमा शब्द रचना आयुष्मानको रहेको छ। पर्यटकीयस्थल खप्तडमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाई देखाइएको छ। गीतको भिडियोमा मिसेल घिमिरे र आरके परियारले अभिनय गरेका छन्। यो गीतले पनि हिन्दी गीतका दर्शकलाई नेपालको सुन्दरता पस्कन्छ।

सुशान्त केसीको क्या कर्दिया

गायक सुशान्त केसीले आफ्नो पर्ख न बोलको गीत भारतमा ट्रेन्डिङमा परेपछि भारतीय दर्शकलाई ध्यानमा राख्दै क्या कर्दिया बोलको गीत हिन्दी भाषामा गाएका थिए। युट्युबमा ४.५ मिलियन भ्युज रहेको गीतमा सुशान्तकै शब्द रचना रहेको छ। गीतको भिडियोमा आना शर्मा र सुशान्तले अभिनय गरेका छन्।

एसटी म्यान, लिल झोला, यङ २२ र लिल नोर्जाको इन्डिया

एसटी म्यान, लिल झोला, यङ २२ र लिल नोर्जाले करिब एक महिनाअघि इन्डिया टँइटलमा ¥याप शैलीमा हिन्दी गीत सार्वजनिक गरे। जसको युट्युब भ्युज ७.५ मिलियन रहेको छ। भारतमा पनि चर्चा भइरहेको यो गीतमाथि कयौं भारतीय युट्युबरले रियाक्सन भिडियो बनाएका छन्। एसटी म्यान र यङ २२ ले कम्पोज गरेको सो गीतको भिडियोमा एसटी म्यान, लिल झोला, यङ २२ र लिल नोर्जाका साथमा बिटी भूमिका र करिश्मा सिंह ठकुरीले अभिनय गरेका छन् ।

सैराज खातीको इश्कका आलम

गायक सैराज खातीले केही साताअघि मात्र इश्कका आलम बोलको हिन्दी गीत सार्वजनिक गरे। गीतमा शब्द ओम केरुङ र सुरज शाक्यको रहेको छ भने शंकर थापा स्माइलको संगीत रहेको छ। गीतको भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै लोकप्रिय जोडी आयुष र एलिजेले अभिनय गरेका छन्। टिकटक लाइभबाट उदाएका आयुश सिंह ठकुरी र पाकिस्तानी नागरिक एलिजेको अभिनयलाई निकै मन पराइएको छ। आयुष र एलिजेले केही समयअघि मात्र विवाह गरेका थिए। यो गीतले ६ मिलिनियम युट्युब भ्युज पाएको छ।