किशोरावस्थामा खेलकुद किन जरुरी छ ?

188
Shares

कतिपय बाबु आमाले स्कुल कलेज पढ्ने आफ्ना छोराछोरीलाई एकोहोरो किसिमले पढाइमा मात्र ध्यान दिन जोड गरिरहेका हुन्छन् । तर, किशोरावस्था भनेको किताबी ज्ञान लिएर राम्रो ग्रेडमा पास गर्ने समय मात्र होइन ।

किताबी ज्ञान लिुनका साथै शारीरिक, मानसिक र भावनात्मक विकास गर्ने, सामाजिक सम्बन्ध कायम गर्ने र नेतृत्व विकास गर्ने समय पनि हो ।त्यसकारण किशोरावस्थामा पढाइमा मात्र ध्यान दिनु अपूरो हुने भएकाले खेलकुदमा पनि त्यत्तिकै ध्यान दिन जरुरी हुन्छ । खेलकुदले किशोरकिशोरीको शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ । नियमित रूपमा खेलकुदमा संलग्न हुँदा मांसपेशीहरू बलिया हुन्छन्, हड्डीहरू सुदृढ हुन्छन् र शरीरको लचिलोपन बढ्छ । यसले उनीहरूको शरीरको तौल नियन्त्रणमा मद्दत गर्नुका साथै मुटु तथा फोक्सोको स्वास्थ्यमा सुधार गर्छ ।

खेलकुदले तनाव, चिन्ता र डिप्रेसनजस्ता मानसिक समस्या कम गर्न पनि मद्दत गर्छ । शारीरिक क्रियाकलापले शरीरमा खुसी उत्पन्न गर्ने हार्मोनहरू उत्पादन हुन्छन् । यसले गर्दा मानसिक तनावबाट मुक्त गराउँछ । खेलकुदमा संलग्न हुँदा किशोरहरूको आत्मविश्वास पनि बढ्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ । खेलकुदले किशोरकिशोरीलाई समूहमा काम गर्न, आपसी सहकार्य गर्न र नेतृत्व गर्न सिकाउँछ । यसले उनीहरूको सामाजिक सीपहरूलाई विकास गर्न मद्दत गर्छ । खेलकुदले स्वस्थ प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्छ । यसले उनीहरूलाई जित र हारलाई समान रूपमा स्वीकार गर्न सिकाउँछ । उसले उनीहरूमा भावनात्मक परिपक्वता आउँछ ।

यसका साथै खेलकुदले उनीहरूलाई अनुशासित हुन प्रेरित गर्छ । खेलकुद र पढाइका लागि समयको सन्तुलन मिलाउने बानीले गर्दा उनीहरूमा समय व्यवस्थापनको कौशल विकास हुन्छ । यसले गर्दा उनीहरूलाई आफ्नो लक्ष्य प्राप्त गर्न आवश्यक परिश्रम र अनुशासनको महत्व बुझ्न मद्दत पुग्छ । खेलकुद र शारीरिक क्रियाकलापले मस्तिष्कमा रक्त प्रवाह सुधार गर्छ । यसले गर्दा ध्यान केन्द्रित गर्न र स्मरण गर्ने क्षमतामा वृद्धि हुन्छ । र, यसले पढाइमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ र शैक्षिक क्षमतामा पनि सुधार ल्याउँछ ।

खेलकुदले मस्तिष्कलाई ताजगी प्रदान गर्ने भएकाले उनीहरूको पढाइमा नयाँ ऊर्जा र उत्साह थपिन्छ ।
खेलकुदमा राम्रो प्रदर्शन गर्ने किशोरकिशोरीहरूले भविष्यमा विभिन्न अवसरहरू पाउन सक्छन् । खेलकुद छात्रवृत्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका र खेलकुद सम्बन्धित करियर निर्माण गर्ने सम्भावना पनि हुन्छ । यसले उनीहरूको प्रतिभा र सीपको पहिचान गर्न अवसर प्रदान गर्छ ।