किशोरावस्थामा किन रक्सी खान हुँदैन ?

376
Shares

किशोरावस्था जीवनको एक संवेदनशील र महत्वपूर्ण चरण हो । यस अवस्थामा शारीरिक, मानसिक र भावनात्मक विकास तीव्र रूपमा भइरहेको हुन्छ । यो उमेरमा रक्सी सेवन गर्ने बानी गर्नाले दीर्घ कालमा असर पर्ने विभिन्न स्वास्थ्य समस्याहरू देखापर्न सक्छन् ।

किशोरावस्थामा मस्तिष्क विकासकै चरणमा रहेको हुन्छ । यस समयमा मस्तिष्कको संरचना र कार्यक्षमता परिवर्तन भइरहेको हुन्छ । यस उमेरमा किशोरकिशोरीको सिक्ने, सम्झने र विचार गर्ने क्षमताहरू विकास भइरहेको हुन्छ । यो कलिलो उमेरमा नै रक्सी सेवन गर्नाले मस्तिष्कको विकास प्रक्रियामा अवरोध पुग्छ । यसले गर्दा किशोरकिशोरीको स्मरण शक्ति, निर्णय गर्ने क्षमतामा कमी आउने र ध्यान केन्द्रित गर्न नसक्ने समस्याहरू उत्पन्न हुनसक्छ ।

यस्तै गरी रक्सी सेवनले किशोरकिशोरीहरूको शारीरिक स्वास्थ्यमा पनि नराम्रो असर पर्छ । यसले कलेजो, मिर्गाैला र पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । साथै, रक्सी सेवनले उनीहरूको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्न सक्छ । यसले गर्दा उनीहरू विभिन्न किसिमका रोग लाग्न सक्छ । किशोरावस्थामा रक्सी सेवन गर्दा भविष्यमा पनि विभिन्न स्वास्थ्य समस्याहरू हुने सम्भावना बढ्छ । जस्तो कि रक्सी खाने लत लागी रक्सी नखाई बस्न नसक्ने वा कुनै कामै गर्न नसक्ने हुन सक्छ । त्यस्तै गरी लिभर सिरोसिस र मुटुसम्बन्धी जटिल रोगहरू लाग्न सक्छ ।

रक्सी सेवनले किशोरहरूको व्यवहारमा पनि नकारात्मक प्रभाव पार्न सक्छ । उनीहरूको व्यवहार आक्रामक, हिंसात्मक अनुचित किसिमको हुन सक्छ । यसले गर्दा उनीहरूको पारिवारिक, सामाजिक र शैक्षिक जीवनमा पनि समस्या उत्पन्न हुन्छ । रक्सी सेवनले किशोर किशोरीहरूलाई अपराधिक गतिविधिहरूमा संलग्न हुन प्रेरित गर्न सक्छ, जसले गर्दा उनीहरूको भविष्यमा नकारात्मक असर पर्छ ।

रक्सी सेवनको बानी लागेका किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूको सम्भावना पनि बढाउँछ । यसले डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगहरूको जोखिम बढाउँछ । साथै, रक्सी सेवनले आत्महत्या जस्ता घातक निर्णयहरू लिन समेत प्रेरित गर्न सक्छ । रक्सी सेवनका बानी लागेका किशोरकिशोरीहरूको जीवनमा गम्भीर किसिमका आघात लागेको, दुर्घटनाहरुमा परेका घटनाहरू पनि धेरै हुन्छन् ।

रक्सी सेवन गर्ने किशोरकिशोरीहरूको शैक्षिक क्षमतामा पनि गिरावट आउने सम्भावना हुन्छ । ध्यान केन्द्रित गर्न समस्या हुने भएकाले उनीहरूको शैक्षिक स्तर कमजोर हुँदै जान्छ । यसले गर्दा उनीहरूको भविष्यको करियर र अवसरहरूमा पनि नकारात्मक असर पर्न सक्छ ।

यस कारणले गर्दा किशोर किशोरीहरूले रक्सी खाने बानी गर्नु हुँदैन । रक्सी खाने बानी लागेका साथीहरूसँग संगत पनि गर्नु हुँदैन । किन भने रक्सी खाने बानी लागेका मानिसहरु खर्चालु हुँदै जान्छन्, अध्ययन र सिर्जनशील कार्यहरूलाई महत्व दिँदैनन् । उनीहरू भविष्यमा चुरोट र लागू पदार्थका अम्मली पनि हुन सक्छन् ।