चट्याङले ऐसेलुखर्कका तीनजना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै


खोटाङ । 

गएराति परेको चट्याङले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुर्खका तीनजना गम्भीर घाइते भएका छन् । ऐसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । 

डेनिस र अनिसा (काका भतिजी) एउटै घर डेनिसकामा बसिरहेको अवस्थामा तथा समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीय बासिन्दाले बताएका छन् । चट्याङले गम्भीर घाइते बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बेहोस अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । 

उनीहरु तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्” उनले भने, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।”

चट्याङका कारण बेहोस बनेका तीनैजनालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर गएराति करिब दश बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । फरक–फरक घर तथा गाउँका तीनजा व्यक्ति बेहोस हुनेगरी परेको चट्याङ कहाँ र केमा परेको भन्ने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

गएराति पानीसँगै परेको चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । “चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उनले भने, “चट्याङले विद्युतको मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबल लगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौँ ।”

चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत जठान गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ जडान गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

दश स्थानीय तह रहेको खोटाङ चट्याङको उच्च जोखिममा रहेको सर्वेक्षणले देखाएको छ । दुई नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लामा चट्याङका कारण वर्षेनी ठूलोमात्रामा जनधनको क्षति हुने गरेको छ ।