हेटौंडामा उपचाररत् युवाको कारुणिक व्यथा


हेटौंडा ।

 हेटौंडा अस्पतालको एक शय्यामा एक अनाम युवा आफ्नो जीवनसँग जुधिरहेका छन् । उनको आँखामा पीडा र अन्यौलता छ । उनको मुखबाट निस्कने शब्दहरु अस्पष्ट र भ्रमित छन् ।

यो एक यस्तो दुःखद घटना हो, जसले हरेक मानवीय हृदयलाई पक्कै पनि छुन्छ । एक यस्तो व्यक्तिको दुःखद घटना, जसले परिवारको माया र साथको अभावमा जीवनको कठोर यथार्थ भोगिरहेका छन् ।

हेटौंडा अस्पतालको शय्यामा छटपटाइरहेका यी युवा, जसले कहिले निजगढ, कहिले चन्द्रपुर, त कहिले सिमरा आफ्नो घर बताउँछन् । केही समयदेखि उनी त्यहाँ उपचाररत् छन् । उनले आफ्नो नाम युजिन लामा बताए पनि उनको साथमा परिचय खुल्ने कुनै कागजात छैन ।

होटलमा रहँदा भदौ ४ गते उनलाई अचानक शारीरिकरुपमा असहज महसुस भयो । यो देखेर उनी बसेको होटल सञ्चालक शशि शिवाकोटी (साकार) ले उनलाई तत्काल हेटौंडा अस्पताल लगे । सामान्य उपचारपछि उनलाई फेरि होटलमै ल्याइयो । बारम्बार बिरामी पर्दा पनि आशीर्वाद होटल हेटौंडाका शिवाकोटी (साकार) ले निरन्तर उपचार गराए । तर, हाल उनको अवस्था झन् जटिल बन्दै गएपछि होटल सञ्चालकले चिन्तित हुँदै युवाको परिवार खोजी सुरु गरेका छन् ।

यी युवक परिवारसँग सम्पर्कविहीन छन् । उनीसँग न मोबाइल छ, न त परिवारका कुनै सदस्यको सम्पर्क विवरण । उनको एक्लोपनको पीडा र उपचारको आवश्यकता दिनानुदिन बढ्दै गएको छ । युजिनको उपचारमा रहेका हेटौंडा अस्पतालका फिजिसियन डा. प्रशान्त बिडारी भन्छन्–हामी सक्दो प्रयास गरिरहेका छौं । तर, उनलाई आफ्नो परिवारको माया र साथको खाँचो छ । बिरामीको अवस्था जटिल बन्दै गएको छ ।