रूख हटाउँदा अति सङ्कटापन्न पक्षीका बास उजाडिने त्रास

   आयाेजना स्थलको उत्तरी क्षेत्रमा अधिकांश गिद्धका गुँड

23.78k
Shares

  नवलपरासी ।

पूर्वी नवलपरासीमा नमुना सदरमुकाम बनाउन रूख हटाउँदा अति सङ्कटापन्न पक्षीका बास उजाडिने भएको छ । विगतमा स्थानीयद्वारा संरक्षित यस क्षेत्रकाे ज्याेतिकुञ्ज सामुदायिक वनमा प्रकृतिका कुचिकार गिद्ध प्रजातिका २ दर्जन बढी गुँड रहेका छन् ।सदरमुकाम निर्माणका लागि यहाँको करिव १२४.८९ हेक्टर जमिनमा सडक पूर्वाधार बनाई प्रयोजनका हिसाबले विभाजन गरिएको छ । यही जमिनमा संघ, प्रदेश र स्थानीय, सरकारी तथा सेवा प्रदायक कार्यालयका गरी ४५ भवन, फुटबल र क्रिकेटका २ रंगशाला, स्मृतिपार्क समेतका निर्माण कार्य सहरी विकास तथा भवन निर्माण कार्यालय भरतपुरले गर्ने बृहद गुरुयोजना रहेको छ ।

जसका लागि भ्याटसहित २ अर्व ६८ करोड २८ लाख २७ हजार २ सय ४७ रुपैयाँ खर्च हुने अनुमानित लागत विवरण प्रस्तुत गरिएको छ ।

निर्माण क्षेत्रका रूख हटाउन कटान आदेश माग 

नमुना सदरमुकाम बनाउन ५ सय ५२ ठूला रूख र ९० खम्बा साईजका बाेट बिरुवा हटाउनु पर्ने इआईए प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।
यसैका लागि सरकारी स्वामित्वका रूख हटाउने मापदण्ड ऐन २०७१ अनुसार स्थानीय डिभिजन वन प्रमुखकाे संयाेजकत्वमा जाँचबुझ समिति बनेकाे छ । सोही बिषयमा जाँचबुझ समिति संयाेजक बसन्त केशव अधिकारीले इआईए प्रतिवेदनका आधारमा समितिबाट सिफारिस भई कटान आदेशका लागि नम्वरिङ्ग सहितको फाइल मन्त्रालय पुगी सकेको बताए ।

कटान आदेश आउन साथ रूख हटाई प्रस्तावित आयोजना स्थलमा पहिलो चरण अन्तर्गत अत्यावश्यकीय प्रशासनिक भवन तथा २ ओटा एकिकृत भवन बनाउने तयारी रहेको छ । ईआईए प्रतिवेदनले आयोजना स्थलमा ४ सय ६ सिसौ, ८७ करम, ३४ सिमल, ६ जामुनाे, १९ बर्राे, ९ बकाईनाे, ३ टिक र २ सालका रूख रहेको उल्लेख गरेको छ । यही विषयले रूख कटान हुँदै  गर्दा गिद्ध अर्थात जटायुकाे वासस्थान जोगाउन चुनाैति देखिएको छ भने मानव र पंछीकाे सहअस्थित्वमा पैदा हुँदै गरेको संकटले संरक्षणकर्मीलाई  चिन्तित बनाएकाे हो ।यहाँका ठूला साना रूखलाई गिद्ध,चिल जस्ता पन्छीले आहार तथा विचरणका लागि पूर्व पश्चिम उत्तर दक्षिण गरी फर्कने प्राकृतिक वासस्थान बनाउँदै आएका छन् ।
जानकारहरू प्रस्तावित नमुना सदरमुकाम क्षेत्रको उत्तर पश्चिम भागका धेरै जसो करमका रूखमा गिद्धका प्रशस्त गुँड देखिएकाले ती रूखकाे संरक्षण गरिनु पर्ने बताउँछन् ।

इआईए प्रतिवेदन, जैविक प्रभावमा सतही

आयोजना स्थल इआईएमा ५ ओटा ठूला सिमलका बाेटमा गिद्धका गुँड रहेकोले तिनका बच्चा हुर्के पछि बनको समन्वयमा रूख हटाउने भनी रहँदा यहाँका अन्य दर्जनौँ रूखमा रहेका गिद्धका गुँडबारे प्रतिवेदन मौन देखिनुमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । साथै इआईए अध्ययन गर्नेहरूले आयोजना स्थल जैविक प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई सतही दस्ताबेजका रूपमा लिएका छन् ।

यता इआईए परामर्शदाताका तर्फबाट वातावरणविद् रेडियम अधिकारीले अध्ययनका क्रममा साे स्थानमा ५/६ वटा गिद्धका गुँड देखिएको र निर्माण क्षेत्रबाट हटाउन पर्ने रूखकाे सङ्ख्या मात्र प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

यसै सम्बन्धमा पंक्षीविद एवं जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष डिबी चाैधरीले  नमुना सदरमुकाम क्षेत्रको वनमा सेतो खैरो र अधिकांश डंगर प्रजातिका गिद्धका गुँड रहेको दाबी गरेका छन् ।चौधरीका अनुसार उक्त क्षेत्र पाेखरा लगायत पहाडी तथा हिमाली भू भागबाट आउने आईयुसिएनकाे १ नम्वर अनुसूचीमा सूचीकृत अति सङ्कटापन्न  गिद्धहरूकाे प्राकृतिक  वासस्थान हो ।

अर्का संरक्षणकर्मी, पंछी संरक्षण संघ कास्कीका अध्यक्ष मनशान्त घिमिरे गिद्ध संरक्षणकै लागि सरकारले एक्सन प्लान बनाई रहँदा सरकारकै अर्को निकायले पनि यिनका गुँड बचाएरै आयोजना अघि बढाउनेमा आफू विश्वस्त रहेको बताउँछन् ।

जिपिएस लोकेसन गुँड र वासस्थान पुष्टिको आधार

सन २०२२ देखि २४ सम्म गरिएको जिपिएस लेकेसन ट्य्राकिङमा गिद्धले साे क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खाेज्ने, प्रजनन तथा गुँड लाउने उपयुक्त स्थल बनाउँदै आएकाे देखिएको छ । जुन कुराकाे पुष्टि यस क्षेत्रमा गिद्धका गुँडकाे अवस्था अध्ययनका लागि लगातार ३ वर्षकाे जिपिएस लोकेसन ट्यापिङ्गले गरेको उनै संरक्षणकर्मी एवं स्थानीय जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष चाैधरीले बताए ।

कतिपय पंछीविदहरूले जसरी मानवीय आवश्यकता पूरा गर्न भौतिक निर्माण आवश्यक छ उत्तिकै सङ्कटापन्न जीवका बनी बनाऊ वासस्थान जोगाउन पनि सतर्कता अपनाइनु जरुरी रहेको कुरा ओैल्याएका छन् ।जानकारहरू आयोजना स्थलको सि वान ब्लकदेखि उत्तर  पश्चिम क्षेत्रमै अधिकांश गिद्धका गुँड देखिएको र प्रस्तावित गुरु याेजनामा हरियाली पार्क पनि यसै स्थलमा रहेको हुँदा यहाँ गरिने विवेकपूर्ण निर्माण गतिविधिले निरीह पक्षीका गुण संरक्षण हुनेमा झिनो आस पलाएको बताउँछन् ।

समुद्री सतहकाे ७५ मिटर देखि १८ सय मिटर सम्म विचरण गर्ने डंगर गिद्धकाे संख्यामा विषाक्त आहार र वासस्थान बिनासका कारण पछिल्लाे अढाई दशकमा ८९ प्रतिसतले गिरावट आई लाेपाेन्मुख अवस्थामा पुगेको अध्ययनले देखाएको छ  ।

जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माले बच्नै पर्ने कुराहरू बचाएर निर्माण कार्य गर्दा उक्त स्थानको झनै शोभा बढ्ने बताएका छन् ।


गिद्धकाे आनीबानी बारे अध्ययन गरिरहेका एक संरक्षणकर्मीका भनाइमा ज्याेतिकुञ्जका वनमा गुँड र बच्चा भएका कतिपय गिद्ध आहारकै खोजीमा पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा स्याङ्जा हुँदै कास्की सम्म पुगेर साँझ गुँडमै फर्कने गर्दछन् ।

नेपाल लगायत एसिया महादिपमा डंगर,हाडफाेर,सुन गिद्ध,राजगिद्ध,सानाेखैराे,लामाे ठाेडे,खैरो ठाेडे, सेतो गिद्ध र हिमाली गरी ९ प्रजातिका गिद्ध पाईने गरेको छ । त्यस मध्ये ८ प्रजातिका गिद्ध कावासोती आसपासकै क्षेत्रमा देखिने गरेको कावासोती स्थित जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिले जनाएको छ ।