सूचना माग्नेलाई घेराबन्दी, गैरकानुनी रुपमा कर्मचारी राखेको नागरिक समाजको आरोप

3.57k
Shares

धादिङ ।

सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैर कानुनी र विधि विपरीत भएको नागरिक समाजले आरोप लगाएको छ ।
नागरिक समाज सिद्धलेकका संयोजक मोहम्मद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरीत कर्मचारी भर्ना नगर्न अनुरोध गरेपनि नमानेको र विधि मिचेर राखिएकोले मागेको सूचना समेत नदिएको नागरिक समाजको आरोप छ ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको निर्देशनमा कर्मचारी छनौट  समितिमा  प्रमुख प्रशासकीय अधिकृत बिनोददकुमार अधिकारी, अध्यक्षले तोकेको विषय विज्ञमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली र सम्बन्धित शाखाको प्रमुखमा शंकरबाबु दवाडीलाई राखेर अन्तरवार्ता लिएर कर्मचारी छनौट गरिएको थियो । साउन २३ र २४ गते अहेव ४ जना, अनमी २ जना, ल्याब असिस्टेन्ट १ जना, अमिन १ जना का लागि अन्तरवार्ता लिइएकोमा दवाडीलाई पालिकाले साउन २३ गते नै कुम्पुर स्वास्थ्य चौकीमा काज फिर्ता गरेको व्यक्ति भएकोले शाखा प्रमुखको रुपमा रहन नसक्ने भएकोले अवैधानिक भएको अन्सारीको भनाइ छ । चरम विवाद, अनियमितता आदीको आरोप लाग्दै आएको सिद्धलेक गाउँपालिकामा फर्जी अन्तरवार्ता लिएर कर्मचारी राखेकोले यस सम्बन्धी सूचना माग गर्दा समेत सूचना माग गर्नेलाई नै सुरक्षाकर्मी लगाएर दिनभर घेराबन्दी गर्दै धम्की दिइएको समेत खुलेको छ ।

सूचना मग्न गएपछि राज्यले गोप्य राख्नु पर्छ भनेका सूचना बाहेकका सूचना दिनुपर्छ तर सिद्धलेक गाउँपालिकाले माग गरिएको सूचना नदिएर आफूहरूमाथि  मानवअधिकार उल्लंघन संविधान विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङमा पीडितहरुको तर्फबाट ०८१ भदौ १२ गते उजुरी गरिएको छ ।

सिद्धलेक गाउँपालिका -५ का ५० वर्षीय मोहम्मद रबिम अन्सारी र सिद्धलेक गाउँपाकिला–५२ वर्षीय रवीन्द्र सिलवाललाई पालिकामा सूचना माग्न गएको भन्दै भदौ ११ गते दिनभर नेपाल प्रहरी बोलाएर स्थान हद गरेर (प्रहरीले घेराबन्दी गरेर) राखेको भदौ १३ गते प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अहेव,अनमी, ल्याब असिस्टेन्ट, र अमिनको परीक्षाको विषयमा विवाद भएको र सो परीक्षाको निर्णय तथा परीक्षा लिने व्यक्तिहरुका बारेमा जानकारी पाउन सिद्धलेक गाउँपालिकामा साउन २७ गते पहिलो पटक सूचना माग उनीहरु दुई जनासहित ७ जना नागरिक समाजका व्यक्तिहरूले लिखित सूचना माग गरेका थिए ।

गाउँपालिकाको तर्फबाट त्यसदिन निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका शिवराम अधिकारीले हस्ताक्षर गरी  सूचना माग गर्नेहरुलाई साउन ३० गते प्रक्रियामा रहेको परीक्षाको बारेमा सूचना दिन नमिल्ने भन्दै पत्र दिएको थियो ।

भदौ ११ गते प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा सूचना उपलब्ध गराउने भनेर बोलाएको र बिहान १० बजे कार्यालय पुगेपछि सुरक्षाकर्मी प्रयोग गरी  दिनभर घेराबन्दी गरेर राखेकोले मानवअधिकारको उलल्लंघन भएको र संविधानले दिएको हक उपभोग गर्न नपाएकोले कारबाहीको माग गर्दै उजुरी गरिएको पीडित अन्सारीले बताए।

पालिका कर्मचारी लगाएर राति धम्कीपूर्ण फोन गरेको र दिउँसो समेत धम्की आएकोले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे समक्ष उजुरी परेको हो । पीडित पक्ष सूचना खोज्दै जिल्ला प्रशासन पुगेका छन् भने मानवअधिकार संरक्षणमा पहल गरिदिन इन्सेकलाई पहल गरिदिन आग्रह गरेका छन् ।

विवादित व्यक्ति र पालिका आफैँले शाखाप्रमुखबाट स्वास्थ्य चौकी पठाएका व्यक्ति राखेर गरिएको अन्तरवार्ता कानुनी रुपमा मान्य नहुने सूचना माग गर्ने अधिकारीहरुले नेपाल समाचारपत्रलाई बताएका छन् ।

प्रकृया चलिरहँदा पनि कोको अन्तरवार्तामा बसेको ? उनीहरुको हैसियत के हो ? किन उनलाई नै राखिएको हो सूचना मागेपछि दिनु पर्छ तर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नभएको दिन निमित्त प्रशासकीय अधिकृतले सूचना दिन नमिल्ने पत्र पठाउनुलाई नागरिक समाजको तर्फबाट आपत्ति जनाउँदै यस किसिमको अवैधानिक गतिविधिबारे नागरिकहरुलाई सूसूचित गर्ने र नागरिक गर्ने समेत सूचना मागकर्ताहरुको भनाइ छ ।

जताततै अनियमितता गरेको आरोप खेपिरहेको सिद्धलेक गाउँपालिकाले बजेट नभएको भनेर खानेपानी योजनाहरु समेत कटौती गरेको गतवर्ष मलेखुबाट पालिकासम्म ७ ओटा गेट बनाउने, बाटो छेउमा केही फलामको फूल राख्ने भाँडो राखेर करोडभन्दा बढी बजेट सकेको स्थानीय राजनीतिक दलहरु र बहुमत कार्यपालिका सदस्यहरुले व्यापक विरोध समेत जनाएका थिए ।

बिचमा कुनै गलत काम गर्नका लागि पनि चिठिपूर्जी चलानी किताबमा समेत बिचबिचमा ठाउँ खाली राख्ने गरेको भेटिएको छ । पालिकाको आव ०८०।८१ को चिठिपूर्जी चलानी किताबको चनाली नम्बर १०१ खाली राखेर छाडिएको पाइएको हो ।

विभिन्न घटना र सूचना नदिएको सम्बन्धमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शिवराम अधिकारीले प्रक्रियामा रहेको कर्मचारी छनौटको विषय सूचना दिन नमिल्ने भएर नदिएका बताउँदै सूचना माग गर्न आउनेलाई अन्य सबै सूचना दिएको दाबी गरे । कार्यालयमा आएर कर्मचारीलाई धम्की दिएकाले उनीहरूबाट सुराित रहनु पर्ने भएको समेत अधिकारीको भनाइ छ ।