इजरायलमा जाने नेपाली कामदारहरुको छनोट सम्पन्न


काठमाडौं। 

इजरायलमा केयरगिभर क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदारहरुको बिहीबार गोलाप्रथाबाट छनोट गरिएको छ ।

इजरायललको जेरुसेलमस्थित पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिबा )को कार्यालयमा सम्पन्न गोलाप्रथामा कम्प्युटरको प्रयोग गरिएको थियो । इजरायलका अध्यागमन निर्देशक मोशे नकासलगायत पिबाका प्रमुख अधिकारीहरुको उपस्थितिमा सम्पन्न उक्त गोलाप्रथा प्रक्रियाबाट २ हजार २ सय उम्मेदवारहरुको छनोट गरिएको थियो । तीमध्ये ६० प्रतिशत अर्थात १ हजार १ सय ९६ महिला र ४० प्रतिशत अर्थात १ हजार ६ जना पुरुष रहेको पिबाका अधिकारीहरुले बताए । काठमाडौंस्थित इजरायली दूताबासमा उक्त छनोट प्रक्रियाको भिडियो कन्फ्ररेन्समार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । इजरायली राजदूत खनान गोदरले सहजीकरण गरेको उक्त प्रत्यक्ष प्रसारणमा नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै मिडियाकर्मीहरुको सहभागिता रहेको थियो । 

पिबाका अधिकारीहरुले छनोट प्रक्रियालाई पूर्ण पारदर्शी र निष्पक्षता सुनिश्चित गर्नका लागि इजरायलले कामदार भित्र्याउने तयारी गरेको नेपाललगायत १० वटै देशमा कम्प्युटरको माध्यमबाट गोलाप्रथा गरिएको बताए । छनोटमा परेका उम्मेदवारहरुको नामावली छिट्टै सार्वजनिक गरिने जानकारी दिंदै उनीहरुले छनोट भएका उम्मेदवारहरुले अन्तिम चरणको स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । शारीरिक रुपमा सक्षम प्रमाणित भएका उम्मेदवारहरुलाई आगामी सेप्टेम्बरदेखि क्रमैसँग इजरायल पठाइनेछ । 

यो कार्यक्रम नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा एक महत्वपूर्ण कदमको रुपमा लिइएको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा काम गर्ने गरी २ हजार जनाको माग भएकोमा ४ हजार २४ जनाको आवेदन परेको थियो । तीमध्ये बैदेशिक रोजगार विभागले गत साउन २१ गते एक हजार ५ सय ९८ महिला र एक हजार ८ सय ६३ जना पुरुष गरी ३ हजार ४ सय ६१ जनाको नाम छनोट गरी पिबालाई पठाएको थियो । आवेदन दिएकामध्ये २ सय ४२ जनाको कागजात नपुगेको कारण र ३ सय २१ जनाको अन्य कारणले आवेदन रद्द भएको थियो ।

वैदेशिक विभागले पठाएको नामावलीमाथि पिबाले ती व्यक्तिहरु यसअघि इजरायल आए–नआएको, इजरायलमा कुनै आपराधिक गतिविधिमा संलग्न भए–नभएको र इजरायलमा कुनै आफन्त रहे नरहेको विषयमा छानबिन गरेर सफल उम्मेदवारलाई मात्रै गोलाप्रथामा समावेश गरेको होे ।