लागु औषधसहित एकजना पक्राउ


पाल्पा। 

पाल्पामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागीरी गाउँपालिका –६ का ३० वर्षीय रेशम जुग्जाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भैरहवाबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको लु १ ख ८९५० नम्बरको बसलाई प्रहरी चौकी राम्दिबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जुग्जाली माथि शंका लागेर चेक गर्दा उनको साथमा लागु औषध फेला परेको हो ।

  जुग्जालीको साथबाट लागु औषध डाइजेपाम ६५ एम्पुल, नुफिन ६६ एम्पुल, फेनारगन ६५ एम्पुल, सिरिंज ५ थान र सोमा प्रयोग हुने निडिल ३ थान फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । लागु औषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको श्रेष्ठले बताए ।