खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान


काठमाडौँ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार खेलकुदमन्त्री चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ।

एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री भण्डारी भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सकेनन् । मन्त्री भण्डारी एनओसीका सल्लाहकार समेत रहेका छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले  नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे ।  कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए । उनले भने– “संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आ-आफ्नो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।” 

त्यसैगरी उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिका खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको र यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने भनाइ पनि राखे । एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबिच समन्वय हुनु आवश्यक भएकोतर्फ औँल्याए । 

त्यसैगरी एनओसीका महासयिचव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको भने । “अन्य संघले पनि कराँतको सिको गर्दै अगाडि बढ्नुपर्छ”– उनले भने । सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । उनीहरुले मन्त्री चौधरीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएका थिए।