महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए


महोत्तरी । 

महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु बाहिरिएका छन् ।

आइतबार बिहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

परिवारवाट नियोजित हत्या नै भएको दाबी गरिरहेको वेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रशस्त आधारहरु भएको स्थानीयहरूले बताएका छन् ।

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडिको भागमा क्षति पुग्नु, मृतकको तिघ्रा र छातीमा नीलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएतापनी खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरुले  घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ ।

सोमबार भएको पोस्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

 छातीमा केही नीलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोस्टमार्टमको रिपोर्टमा समेत उल्लेख गर्नुले आशंका गर्ने कयौँ ठाउँहरु देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले बताए ।

मृतक यादव  माओवादी केन्द्र निकट थिए । उनले  यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रबाट नै निर्वाचित भएका थिए ।

घटनाको छानबिन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उनको  मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दबाब बढाएको छ ।

आज एक पत्रकार सम्मेलनका विच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दाबीसहित विभिन्न आधारहरु सार्वजनिक गरेको छ ।

पार्टीका महोत्तरी  इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ । मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको बताउँदै सुक्ष्म अध्यण गर्दा हत्या भएको नै प्रतीत हुने इन्चार्ज खडकाले बताए  ।

मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता भारत साह, केन्द्रिय सदस्य भवानी थापा सहितको  उपस्थितिमा  भएको पत्रकार सम्मेलनमा अन्यन्त्रवाट घटना घटाएर अपराधीले दुर्घटनाको नाटक गरेको वताईएको छ । घटनास्थलको पकृति हेर्दा हत्या नै गरेको दाबी सहित माओवादी केन्द्रले ८ वटा आधारहरु सार्वजनिक गरेको छ । मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, लासको पकृति हेर्दा कसैले सुताए जस्तो देखिनु, जुत्ता, मोबाईल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजित जस्तो देखिनु, मोटरसाइकल ठोकिएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिएतापनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाइलमा शकास्पद फोन आउनु जस्ता आधारहरुले हत्या नै गरेको दाबी माओवादी केन्द्रको छ ।

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथि  बुटले हानेको जस्तो निसान र नीलडाम देखिएको माओवादी मधेश प्रदेश संसदीय दलका नेता भारत साहले बताए । पोस्टमार्टम रिपोर्टमा सग्लन चिकित्सकसँग उदृढ गर्दै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले छातीमा ५० एमएल आन्तरिक रगत  बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नु घटना दुर्घटना नभईकन शतप्रतिशत हत्या नै भएको दाबी गरे ।

श्रीमतीलाई आज घर ढिलो आउँछु भनेर फोन गरेका मुकेश सधैका लागि फर्किएनन्

आइतबार राति आज घर ढिलो आउँछु  भनेर दिएको सूचना श्रीमती आईती यादव अहिले पनि झलझल्ती सम्झिरहन्छिन ।

राति अवेरसम्म पनि श्रीमान नफर्किएपछि आइतीले दर्जनौं  पटक फोन गरिन तर फोन उठेन । ‘रातको ११ बजे हुनुपर्छ सञ्जीव झा की श्रीमतीले फोन गरिन र मुकेश आफ्ना श्रीमानसँग भएको बताइन ।’ यादवले भनिन । ‘त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।’

सञ्जीव झाले सम्सिमा संगम होटल संचालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरु बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटल संचालनमा समेत प्रतिबन्ध लगाएको थियो।

उनी जेलमा परेपछि पनि मुकेश पटक-पटक भेटन गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन् सक्ने मृतकका दाजु सतेन्द्र यादवले बताए । १६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उनीहरुको दुरी केही समयदेखि टाढिएको परिवारले बताएका छन् ।

आइतबार राति पनि मुकेश सञ्जीव झा, दिलीप मण्डल र तिन जना महिलाहरु बसेर बर्दिवास-८ स्थित राजु होटलमा खाजा समेत खाएको फेला परेको छ । खाजा खाएपछि महिला र दुई पुरुष बर्दिबासस्थित एमडी स्टार होटलमा आएको होटल संचालकले बताएका छन् ।

दुई महिला मध्ये एक महिला भने संगम होटलमा प्रहरीले छापा हान्दा आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन ।  यी सवै पृष्ठभूमि हत्यासँग जोडिएको र योजनावद्व ढंगले हत्या गरिएको परिवार पक्षको दाबी छ । मृतक यादवको हक्की स्वभाव र प्रतिस्पर्धात्मक क्षमताका कारणले मृत्यु राजनीतिसँग समेत जोडिएको हुन सक्ने आकलन गरेका छन् ।

घटनाको थप खोजविन गरेर सत्यतथ्य बाहिर ल्याउने पनि माओवादी केन्द्रले प्रतिबद्धता जनाएको छ । यस्को लागि केन्द्र, प्रदेश र जिल्लामा प्रहरीहरुलाई तथ्यहरु दिएर अनुसन्धान अगाडी बढाउन गम्भीर ध्यानाकर्षण गराएको इन्चार्ज खडकाले जानकारी दिए ।

-बिशाल बस्नेत