सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगलस्थित सडकमा बिएबी ५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही बाग्मती नगरपालिका-४ जिराईत बस्ने ३७ वर्षीय मान बहादुर प्रधानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, तानसेन नगरपालिका-१ नारायणडाँडास्थित सडकमा यूपी १४ डीएन १०४ नम्बरको कार अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेश बस्ने २८ वर्षीय बिकास पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा बागमती प्रदेश-०३-००१ च ५३१ नम्बरको सुमोले प्रदेश १-०२-०४३ प ८०२५ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चपुरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सुमो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, अग्निसाइर कृष्णसावरण गाउँपालिका-५ छप्की टोलस्थित सडकमा जण्डोलबाट बनौलीतर्फ जाँदै गरेको मधेश प्रदेश -०६-००१ प १४१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ठगनि देवी सुतियारको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।