८४ वर्षीय भिक्षु गुणघोष धुलिखेलको विहार भित्रै मुखमा कपडा कोचेर डोरीले बाँधेर लुटिए 

45.97k
Shares

काभ्रे। 

धुलिखेलमा रहेको बौद्ध विहारमा बस्दै आएका ८४ वर्षीय ज्येष्ठ भिक्षु गुण घोषलाई कुटपिट गरी लुटपाट गर्ने समूहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । भिक्षु गुण घोषलाई कुटपिट गर्दै मुखमा कपडा कोची, डोरीले बाँधेर नगद चोरी गरिएको थियो ।
 
भदौ ६ गते बिहान ३ बजेको समयमा धुलिखेल नगरपालिका वडा नम्बर ७ मा भिमसेनस्थानमा रहेको बौद्ध विहार भित्र प्रवेश गरी भिछु गुण घोषलाई कुटपिट गरेका थिए । भिक्षु गुणघोष ४५ वर्ष देखि सोहि विहारमा बस्दै बौद्ध धर्म सम्बन्धी प्रवचन दिँदै आएका थिए । उनको स्थायी ठेगना ललितपुर पाटन रहेको प्रहरीले जानकारी दिएको छ ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठका अनुसार भिक्षु गुण घोषलाई कुटपिट गरी अमानवीय ढंगबाट यातना दिँदै चोरी गर्ने मध्येका एक जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ । प्रहरीले संलग्न भएका अन्यको पनि खोजी जारी राखेको बताएको छ । 

झापा जिल्ला मेची नगरपालिका ९ बस्ने २० वर्षीय  आदित्य श्रेष्ठलाई प्रहरीले धुलिखेलबाट नियन्त्रणमा लिएको छ । उनी  बौद्ध बिहारमा चोरी गरी धुलिखेलको होटल हिल सेभेनमा बसोबास गरिरहेका थिए । प्रहरीले भदौ ७ गते नै उनलाई पक्राउ गरेको थियो ।

 घाइते ज्येष्ठ नागरिक समेत रहेका भिक्षु गुणघोषणलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । उनको उपचार भइरहेको जनाइएको छ । विहारबाट १ लाख ६५ हजार ८ सय ९० रुपैयाँ नगद चोरी भएको थियो ।

 प्रहरीले आदित्य सहित चोरी भएको पैसा समेत बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई चोरी तथा डाँका अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।