बियरको बोतल प्रहार गरी युवतीको हत्या


हेटौंडा ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने वडा–१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा एक युवतीको हत्या भएको छ । मृतक हेटौंडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ करिब ५ बजे उक्त होटलमा करिब ३० वर्षीय एक युवा र एलिसा पुगेका थिए । सोमबार विहान अबेरसम्म पनि उनीहरु बसेको २०५ नम्बर कोठाको ढोका नखुलेपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा एलिसा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सँगै आएका युवकले एलिसाको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्किएको प्रहरीको भनाइ छ । होटलको आगन्तुक पुस्तिकामा उल्लेख गरिएको विवरणअनुसार मोबाइल नम्बर गलत टिपाइएको बताइएको छ । वडाअध्यक्ष फुर्वा दोर्जेलामाका अनुसार आइतबार राति नै हत्या गरेर करिब ९ बजे ती युवा बाहिरिएको देखिन्छ । एलिसासँगै आएका ती पुरुषको खोजीकार्य जारी रहेको जनाइएको छ ।

साँझ ५ बजे होटल पुगेपछि उनीहरुले बियर र मम मगाएर खाएको र आइतबार साँझ ७ बजेर ५९ मिनेटमा ती युवा होटलबाट बाहिरिएको दृष्य सीसी क्यामेरामा कैद भएको वडा अध्यक्ष लामाले जानकारी दिए । बियरको बोतल प्रहारबाट मृतकको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको शवका एक प्रत्यक्षदर्शीको दाबी छ ।

खाटमाथि उत्तानो परी सिरकले मुख छोपिएको अवस्थामा एलिसाको शव देखिएको प्रहरीले जनाएको छ । घटनाको कारण थाहा हुन सकेको छैन । उनको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।