१ सय २२ वर्षदेखि निरन्तर बनेपामा कन्याहरु पुजिँदै 

7.61k
Shares

बनेपा, काभ्रे।

१ सय २२ वर्ष देखि निरन्तरता पाई रहेको बनेपाको कन्या पूजामा सोमबार ७ हजार भन्दा धेरै कन्या पुजिएका छन् । कन्या पुजाको तयारी स्वरूप गाईजात्राको दिनदेखि स्वारी पोल्ने कार्य गरिएको थियो । ७ हजार कन्यालाई २२ हजार स्वारी उपलब्ध गराउने गरी सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजना तथा व्यवस्थापनमा स्वारी पोल्ने कार्य हुँदै आएको छ । 

बनेपाको अलावा बनेपा ११ सिनागाल, शान्ति पार्क, बनेपा १० जनागाल, चौकोट, पनौती बाँसघारी, बनेपा ६ बुडोल, धुलिखेल ४ बखुण्डोल लगायतका दर्जनौ स्थानमा कन्याहरु पुजिएका छन् । श्रीकृष्णजन्माअष्टमीको अवसरमा विभिन्न स्थानमा कन्याहरु पुज्ने गरिएको छ । कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको छ । बनेपामा आयोजना गरिएको कन्या पूजामा प्रति कन्या पाँच सय रुपियाँ बराबरका सामाग्री उपलब्ध गराइएको थियो।


 अविवाहित तथा रजस्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले सुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो।

 बनेपाको भोलाखाटोलबाट सुरु भएको बृहत कन्या पूजाको सुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुट सहित पूजा गरिन्छ । सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइन्छ । भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन हुने गरेको छ ।

कन्याहरूलाई पूजा गर्दा सु–स्वास्थ्य, सुभ–मङ्गल र सुखमय जीवनको कामना गरिन्छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिल्ने, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ । बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका विभिन्न स्थानमा पनि कन्या पूजा गर्न सुरु गरिएको छ । समितिमा अध्यक्ष रामगोपाल कायस्थ, उपाध्यक्ष सुरकृष्ण वैद्य, सचिव प्रकाश कायस्थ, कोषाध्यक्ष दिनेश कायस्थ, सदस्यहरुमा धु्रर्वराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जन कायस्थ, मणिराज कायस्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप वैद्य, उदय सिं मुस्याजु छन् ।

 दाताहरुले दिएको रकम अभाव भएमा वा पूजामा नपुग भएमा समितिका तर्फबाट खर्च व्यवस्थापन हुँदै आएको छ । व्यापारीक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्णजन्माष्टमीको अवसरमा कन्याहरू पुजिँदै आएका छन् ।