मुटुरोग जितेर फुटबलको धड्कन बनेका रोनाल्डो

0
Shares

कडा मिहिनेत र परिश्रमले सुपरस्टार भएकामध्येका एक व्यक्ति हुन्, क्रिस्टियानो रोनाल्डो । फुटबलको संसारमा सबैभन्दा महँगामध्येका एक खेलाडीको रूपमा परिचित उनी भन्छन्– ‘जोखिमबाट बच्नुछ भने जोखिम नै मोल्नुपर्छ ।’ उनी स्वयंले पनि आफ्नो यो भनाइलाई सार्थक बनाए ।

बाल्यकालमा मुटुरोगी रोनाल्डोलाई ज्यानकै जोखिम थियो । डाक्टरले उनलाई बाँच्ने भए फुटबल नखेल्नु भनेका थिए । तर, आफ्नो लक्ष्यमा अविचलित रोनाल्डोले डाक्टरको सुझावलाई लत्याएर फुटबललाई नै निरन्तरता दिए । १५ वर्षको उमेरका रोनाल्डोले फुटबल खेल्न पाइनँ भने यत्तिकै पनि मरिन्छ, त्यसैले त्यत्तिकै मर्नुभन्दा फुटबल खेलेर नै मर्न चाहन्छु भनेर डाक्टरलाई जवाफ दिएका थिए । फुटबलप्रतिको यस्तो मोह भएका एक गरीब मालीको छोरा रोनाल्डोे अहिले सर्वकालीन महान् फुटबलरको सूचीमा अटाएका छन् ।

कतिपय फुटबल खेलाडी खेल्दाखेल्दै हृदयघातका कारण मैदानमा ढलेको र मृत्यु भएको समाचार हामी सुन्ने गर्छौ । अझ मुटुको उपचारपछि निको भइसकेका त्यस्ता खेलाडीहरूले त डाक्टरले सल्लाह र सुझावकै कारण फुटबल खेल्न छाडेका छन् । तर, रोनाल्डोले भने सानै उमेरमा मुटुमा समस्या भए पनि फुटबलबाट कहिले अलग्गिने सोचेनन् । बरु उनले १५ वर्षको उमेरमा फुटबलका लागि मुटुको शल्यक्रिया गरेका थिए । यदि उनले डाक्टरको सल्लाह मानेर फुटबल छोडेका भए उनी सजिलैसँग बाँच्न त सक्थे तर, जीवनभर फुटबल खेल्न पाइनँ भन्दै चुकचुकाउनुपर्थो ।

उनले फुटबलका लागि आफ्नो ज्यानको परवाह नगरिकनै शारीरिक रूपमा निकै बलिया र चुस्त खेलाडी भएको प्रमाणित गरेरै छाडे । द्रूत गतिमा बललाई नियन्त्रण गरी शक्तिशाली प्रहारमार्फत निशाना लगाउन माहिर उनीे जस्तोसुकै विपक्षी रक्षापंक्तिका लागि टाउको दुखाइ बन्ने खेलाडी हुन् । फुटबलप्रतिको यही पागलपनले गर्दा आज उनी विश्वफुटबल इतिहासमा अहिलेसम्मकै सर्वाधिक गोलकर्ता भएर चिनिएका छन् ।

उनले एउटा फुटबल खेलाडीले पाउने विश्वस्तरका सबैजसो सम्मान पाइसकेका छन् । आठ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका रोनाल्डोको बाल्यकाल वर्षातमा पानी चुहिने सानो घरमा बित्यो । त्यस्तो अवस्थामा उनले आफ्नो बुवासँग म छिट्टै नै महल किन्छु भन्ने गर्थे । उनले आफूले बोलेको कुरालाई सत्य सावित गरेका छन् । रोनाल्डो वास्तवमै अहिले थुप्रै महंगा महलका मालिक बनेका छन् । वास्तवमा कोही व्यक्ति स्टार भएर जन्मेको हुँदैन । हामी सबै शून्यबाट आएका हुन्छौ । जीवनमा गरिने अथक मिहिनेतले नै हामीले साथमा ल्याएका शून्यको अगाडि अंक थपेर जीवनको गणितलाई अनगिन्ती बनाउनुपर्छ ।

रोनाल्डाको उपलब्धि

उनी आफ्नो करियरको ९ सय गोलनजिक पुगिसकेका छन् । युरोपकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीको पहिलो स्थानमा छन् । रोनाल्डोले सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यू गरेयता कुल १ सय ८३ म्याच खेल्दै १ सय ४० गोल गरिसकेका छन् । यी सबै गोल उनले म्यानचेस्टर यूनाइटेड, रियल मेड्रिड र युभेन्ट्सबाट च्याम्पियन्स लिगमा खेल्दा गरेका हुन् ।

रोनाल्डो पाँचपटकको बलोन डी ओर अवार्ड विजेता हुन् । उनले सन् २००८, २०१३, २०१४, २०१६, र २०१७ मा उक्त अवार्ड जितेका हुन् । उनले रियल मेड्रिडबाट खेल्दा ४ पटक (सन् २०१४, २०१६, २०१७, २०१८) युरोपियन च्याम्पियन्स लिग जितेका थिए ।

रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले १३० अन्तर्राष्ट्रिय गोल गरेर कीर्तिमान बनाएका छन् ।
उनले आफ्नो राष्ट्रलाई सन् २०१६ को युरोकप दिलाएर राष्ट्रलाई प्रमुख प्रतियोगिताका उपाधि दिलाउन नसकेको अभागी खेलाडीको पहिचान मेटेका थिए ।

उत्कृष्ट हुँदाहुँदै पनि फिफा विश्वकपको उपाधि जित्ने उनको चाहना भने पूरा हुनसकेका छैन । रोनाल्डो विश्वभरिका विभिन्न सामाजिक मिडिया प्लेटफर्ममा अत्यधिक लोकप्रिय छन् र उनका करोडौं फलोअर्स छन् ।