सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१६ रसायली चोकस्थित सडकमा लु.२८ प ५४२० नम्बरको मोटरसाइकल लु.१ ह ४१६३ नम्बरको अटोमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दघाट नगरपालिका-१६ कालुचोक बस्ने ३० वर्षीय रमेश गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, धनगढी माइ नगरपालिका-१० जिरोमाईलस्थित सडकमा जिरोमाईलबाट सुखिपुरतर्फ जाँदै गरेको स.३ प २५३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सप्तरी राजबिराज नगरपालिका-६ जमुनी घर भई सिराहा सुखिपुर नगरपालिका-८ बस्ने १८ वर्षीय बिक्रम दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पताल रूपनी सप्तरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिक सडकमा ना.७ ख ६०६४ नम्बरको बसले बा.७० प ६२४१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक फतुवाबिजयपुर नगरपालिका बस्ने ३५ वर्षीय राम एकवाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।