म्याग्दीको गाजनेमा जगन्नाथ भगवानको रथयात्रासहित सरकारी भोज

564
Shares

म्याग्दी।

म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको जगन्नाथधामको शुक्रवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथि, मन्दिरका पुजारी, सहभागी भक्तजनहरु, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । 

सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने भएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जति पटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो । सोही अनुसार हरेक वर्षको एकपटक जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गर्न पाइन्छ ।

श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए । रथयात्रा तथा सरकारी भोज कार्यक्रमको परमपुज्य स्वामी पशुपति तीर्थ महाराजले शुभारम्भ तथा उद्घाटन गरेका थिए  । 

कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भगवान् जगन्नाथको प्रचारप्रसार गरी गाजने क्षेत्रमा धार्मिक पर्यटन बढाउनका लागि आवश्यक पहल गर्नुपर्ने बताए । 

कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्तव्य व्यक्त गर्दै जगन्नाथलगायत धार्मिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले म्याग्दी जिल्लामा रहेका जगन्नाथसहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिए । 

रथयात्रा कार्यक्रममा पण्डित तुलसीराम अधिकारी, पुजारी विवेक सुवेदीसहितको टोलीले स्वस्तीवाचन गरी सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा करिब ३ मुरी चामलको खिर पकाएर सहभागी भक्तजनलगायत सबैलाई खुवाइएको थियो । उक्त कार्यक्रममा जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साबिक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट १५ सयको हाराहारीमा श्रद्धालु भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए । 

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माको अध्यक्षता, उपाध्यक्ष यामबहादुर बानियाँको स्वागत र सचिव रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव पौडेलले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीयवासी र भक्तजनहरुबाट दर्शन तथा पूजाअर्चना गर्नुका साथै भजनकिर्तन समेत भएको थियो ।