पशुपति कोटीहोममा पुगेनन् पूर्व राजा शाह र कमल थापा


काठमाडौं । 

पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी  ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् । 

 हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शीर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पूर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकि, उनीहरू दुबैलाई आयोजकले निम्तो पठाएका थिए । 

 पूर्व राजा शाह र अध्यक्ष थापा हिन्दु अधिराज्यका लागि लागिपरेका छन् तर पशुपतिनाथकाे काेटीहाेममा नपुगे पछि भक्तजन र उनीहरूका समर्थकहरू निराश भएकाे जनाइएको छ ।   

 ‘धेरै जसो आइसक्नु भएको छ, पूर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन’, कोटी होम प्रचार विभाग प्रमुख राजानन्द माण्डव्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’

 साउन १ देखी सुरु भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उद्देश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाई, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।