‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ पुस्तक लोकार्पण


काठमाडौं ।

पुराना राजनीतिज्ञ रत्नप्रसाद खरेलको जीवनीमा आधारित पुस्तक ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ।

राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, गीतकार यादव खरेल, पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, कूटनीतिज्ञ एवं शिक्षाविद् डा.जयराज आचार्य, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र रत्नप्रसादका छोरीहरू डा. रमा खरेल, रोश्नी खरेललगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

वरिष्ठ अधिवक्ता भण्डारीले रत्नप्रसादलाई उदारवादी राजनीतिज्ञको रूपमा सम्झना गरे। पुस्तकमाथि टिप्पणी गर्दै पूर्वराजदूत आचार्यले राष्ट्रिय पञ्चायतमा रत्नप्रसादले बोलेको विषय अहिले पनि सान्दर्भिक रहेको बताए।

‘रत्नप्रसादले नेपाली युवाले विदेशमा दुःख पाएको कुरा संसदमा उठाउनुभएको थियो। अहिले पनि हाम्रा लाखौँ युवाले विदेशमा दुःख पाइरहनुभएको छ,’ डा. आचार्यले भने। उनले रत्नप्रसाद खरेलको जीवनी आजका मन्त्री, सांसद, नेता सबैले पढ्नुपर्ने बताए। कार्यक्रममा द्वन्द्वविद् डा. राम थपलियाले रत्नप्रसाद खरेल बौद्धिक कर्ममा विश्वास गर्ने र दूरदर्शी नेता भएको बताए।

रत्नप्रसाद खरेलका भतिज तथा गीतकार यादव खरेलले रत्नप्रसादसँगका सम्झना सुनाए। छोरीहरूले पुस्तक प्रकाशन गरेर बुवाप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली दिएको बताए। रत्नप्रसादले काभ्रे जिल्लामा हलो जोतेर क्रान्ति गरेको उनले सम्झिए।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रत्नप्रसादलाई स्वाभिमानी र कट्टर देशभक्त नेताको रूपमा स्मरण गरे। लोहनी र रत्नप्रसादले पञ्चायतको समयमा सँगै जेलजीवन बिताएका थिए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले पञ्चायती राजनीतिलाई जनपक्षीय बनाउन सक्रिय नेताको रूपमा रत्नप्रसादलाई सम्झिए। कार्यक्रममा रत्नप्रसादकी छोरीहरू डा. रमा खरेल, रोश्नी खरेलले बुबाको राजनीतिक, सामाजिक र पारिवारिक योगदानसको सम्झना गरे।

खरेल परिवारले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई सम्मान गर्ने पनि घोषणा गरेको जानकारी दिएको छ।