रुखले किचेर महिलाको मृत्यु


लमजुङ।

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । आज (सोमबार) साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।
शव परीक्षण गर्न बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ । मृतक मिश्रका श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।