महिलालाई दुनाटपरी बुन्ने र बाटेको धूप बनाउने तालिम

280
Shares

म्याग्दी।

पछिल्लो समय व्यावसायिक सिपमूलक सम्बन्धी विभिन्न किसिमका तालिमहरु लिएर पेसा तथा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने क्रम बढ्दै जान थालेको छ । खासगरी महिला उद्यमी र समूहलाई आर्थिक रुपमा सशक्त बनाउन तथा नयाँ उद्यमी सिर्जना गर्नेगरी तालिम तथा गोष्ठीहरु सञ्चालन हुँदै आएका छन् । 

यसैक्रममा म्याग्दीको सदरमुकाम बेनीमा पनि दुई दिनसम्म महिलाहरुलाई लक्षित गरेर पेसा, व्यवसायमार्फत आत्मनिर्भर बनाउनका लागि जीवनपयोगी सिपमूलक सम्बन्धी तालिम प्रदान गरिएको छ । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिवार र आइतबार बेनीमा दुनाटपरी बुन्ने तथा बाटेको धूप बनाउने तालिम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा संघको सभाहलमा तालिम सञ्चालन गरिएको थियो । 

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यले दुनाटपरी बुन्ने र बाटेको धूप बनाउने तालिम अब व्यवहारमा पूर्ण रुपले उतार्न सहभागीलाई सुझाव दिए । उनले दुनाटपरी र बाटेको धूप स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक हुने बताउँदै अहिलेको अवस्थामा दुनाटपरी तथा बाटेको धूपलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । बजारमा आउने प्लाष्टिकका प्लेट तथा सिन्के धूपलाई विस्थापन गर्नुपर्ने उनको भनाइ छ । 

सोही कार्यक्रममा बेनी नगरपालिकाको नगर कार्यपालिका सदस्य एवं महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठले महिला उद्यमीहरुलाई अलि लामो अवधिका तालिमको आवश्यकता रहेको बताउँदै यस्ता सिपमूलक तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । तालिमको समापन गर्दै महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले महिलाहरुलाई सिपमूलक तालिममार्फत पेसा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिएकी छन् । उनले महिला दिदीबहिनीहरु त्यत्तिकै बसेर समय खेर फाल्नुभन्दा सिप सिकाएर उद्यमी सिर्जना गर्न र अर्गानिक उत्पादनलाई प्रयोगमा ल्याउनका लागि पनि तालिम सञ्चालन गरिएको बताइन्। 

कार्यक्रममा सहभागीहरुको तर्फदेखि तालिमको अनुभव सुनाउँदै सहभागीद्वय जमुना गौतम र विष्णु शर्माले महिला उद्यम विकास समितिले सञ्चालन गरेको तालिम एकदमै जीवनपयोगी सिपमूलक भएकोमा प्रशंसासहित आगामी दिनमा पनि निरन्तरता दिन माग गरे । उनीहरुले अब बजारमा पाइने प्लाष्टिकका प्लेट र सिन्के धुपको सट्टा दुनाटपरी तथा बाटेको धूप उत्पादन गर्नेतर्फ ध्यान दिइने बताए । प्लाष्टिकका सामानको प्रयोग तथा मगमग बसाउने अगरबत्तीलगायत सिन्के धुपले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने भएकाले त्यसलाई विस्थापन गर्नका लागि दुनाटपरी र बाटेको धूप उत्पादन गर्ने उनीहरुले प्रतिबद्धता जनाए। 

तालिमको समापनसत्र महिला उद्यम विकास समितिका सभापति श्रेष्ठको अध्यक्षता र सहसचिव गुमा भट्टराई शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको तालिममा पहिलो दिन दुनाटपरी बुन्ने र दोस्रो दिनमा बाटेको धूप बनाउन सिकाइएको थियो । तालिममा प्रशिक्षक एवं महिला उद्यमीहरु पदमकुमारी श्रेष्ठ, कमला गिरी, सृजना श्रेष्ठ र गीता रिजाल शर्माले सहजीकरण गरेका थिए । आयोजक महिला उद्यम विकास समितिका पदाधिकारी तथा सदस्य, महिला सहकारीका प्रतिनिधिहरु र महिला लायन्स क्लबहरुका प्रतिनिधिसहित पहिलो दिन ३० जना र दोस्रो दिन करिब ४० जनाले तालिममा सहभागिता जनाएका थिए ।