अध्यक्ष ओलीसहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग 

2.7k
Shares

धादिङ । 

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहित गजुरी गाउँपालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले माग गरेको छ।  एमाले गजुरीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी कारबाहीको माग गरेको हो। 

नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले आइतबार प्रेस विज्ञप्ति प्रकाशन गर्दै एमाले नेता तथा कार्यकर्ताहरुलाई खेलकुदका प्रशिक्षकमा १ वर्षअघि नियुक्ति लिएका राजन लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली  प्रयोग गरी  एक महिनादेखि निरन्तर फेसबुक स्टाटस मार्फत धम्कीपूर्ण स्टाटस लेख्दै आएका छन्  । 

गजुरी गाउँपालिका वडा नम्बर ६ का नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षक नभई पार्टी कार्यकर्ताकाे रुपमा भर्ना गरेपछि गाउँमा समेत त्रास फैलाउँदै आएको गजुरीवासीको भनाइ छ । 

एमाले कार्यकर्तालाई छानी छानी १ महिनामै १७ हजार मारिने छ भनी मिति ०८१ साउन २५ गते खेलकुद प्रशिक्षक  लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग र नेपाल सरकारको बिचमा भइरहेको “डेडिकेटेड फिडर तथा ट्रङ्ग लाइनको विद्युत् महसुल विवाद समाधान” सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको धम्कीपूर्ण लेख (स्टाटस) ले नेकपा (एमाले) गजुरी गाउँपालिका कमिटीको गम्भीर  ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो समयमा सामाजिक सन्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अत्यन्तै तथ्यहीन र भ्रामक कुरा लेख्दै आईरहेकोमा त्यस्तो नगर्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको जुनसुकै बेला ज्यान लिन सक्ने धम्की दिँदै लामाले फेसबुक स्टाटसहरु लेख्ने गरेका छन् । 

स्थानीय तहमा कार्यरत कर्मचारी भएपनि लामाले पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट हटेर केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीविरुद्ध गाली गलौज गर्दै ओलीको ज्यान लिने सम्मको धम्की दिएर फेसबुकमा लेख्दै आइरहेको नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य समेत रहेका गजुरी गाउँपालिकाका कार्यपालिका सदस्य आयुष प्रजाले बताए । लामाले आयुषलाई समेत ज्यान लिने धम्की दिएको फेसबुक स्टाटसमा स्पष्ट देख्न सकिन्छ । 
लामाले शक्तिको आडमा सामाजिक सन्जाल मार्फत  बिशेष गरी नेकपा एमालेबिरुद्ध अफवाह फैलाउनुका साथै त्यस्को प्रतिवाद गर्ने व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर लामो समय देखि आतङ्क मच्चाउँदै आइरहेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए । 

लामाको व्यवहार गलत भएको बारेमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सचेत गराउँदा पनि श्रेष्ठले कारबाही गर्नुको साटो संरक्षण दिंदै आएकाले कानुनी उपचारमा जान आफूहरूलाई बाध्य बनाएको अध्यक्ष मिजारले बताएका छन् । 

लामालाई कारबाहीकाे माग गर्दै इलाका प्रहरी कार्यालय गजुरीमा आइतबार उजुरी दर्ता गराइएको मिजारले जानकारी दिए ।
 
लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक पदमा कार्यरत छन् । सरकारी कर्मचारीको हैसियतमा भएर पनि सामाजिक सन्जालको दुरुपयोग गरी धाक धम्की, डर त्रास देखाउने काम लामाले गर्दै आएको र त्यस्तो नगर्न सुझाव दिँदा उल्टै आफ्ना साथीहरुको ज्यान लिने धम्की दिएको भन्दै नेकपा एमाले गजुरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय गजुरी र गजुरी गाउँपालिकामा पटक पटक ध्यानाकर्षण गराए पनि कुनै कारबाही नभएपछि उनको मनोबल बढेको एमाले गजुरीका पूर्व अध्यक्ष माधव भण्डारी बताउँछन् ।