वागमती सफाइ अभियान १२ वर्षमा


काठमाडौं । 

७० सालको जेठ ५गतेदेखि सुरु भएको वागमती सफाइ महाअभियानले शनिबार कीर्तिपुरको सुन्दरीघाटस्थित नदी क्षेत्रबाट ६ मेट्रिक टन फोहोर संकलन गरेर आफ्नो अभियानलाई निरन्तरता दिएको छ । 

कीर्तिपुर चोभारगेट निवासी सफाइ अभियन्ता चित्र सुनुवारकाअनुसार ललितपुर महानगरको धोबीघाट र कीर्तिपुरको सुन्दरीघाट क्षेत्रबाट सो फोहोर संकलन गरिएको हो । 

जीवन विज्ञान धार्मिक तथा स्वास्थ्य संस्थाले १२ वर्षअघि सुरु गरेको यस सफाइ महाअभियानमा केही व्यक्ति र संस्थाहरु प्रारम्भदेखि नै निरन्तर खटिरहेका छन् । नेपाल सरकारका पूर्व मुख्य सचिव तथा सफाइ अभियन्ता लीलामणि पौडेल १२औं हप्तादेखि जोडिएका छन् । पौडेलका साथमा अभियन्ताहरु राजु अधिकारी, नारायण श्रेष्ठ, किशोरजंग शाहीको समूह सहभागी थियो । 

‘जीवन विज्ञान संस्थाले १२ वर्षअघि भारतको सुप्रसिद्ध गंगा नदी सफाइ गरेर चर्चा कमाएका करिब ५० जना अभियन्तालाई नेपाल ल्याई वागमती सफाइ महाअभियान सुरु गरेको हो’ सुनुवारले जानकारी दिए । 

ललितपुर महानगर–४ र कीर्तिपुर नगरपालिका–९ मा पर्ने शनिबारको सफाइ कार्यक्रममा कीर्तिपुरका उपमेयर शुभलक्ष्मी शाक्य, (सुनिता), वडा नम्बर ६ का वडाअध्यक्ष खिरमानसिंह बस्नेत (पृथ्वी), वडा नम्बर १० का वडाअध्यक्ष आदि जनप्रतिनिधि सहभागी थिए । सफाइ अभियानमा नेप्सेम्याक ललितपुर, क्लीन नेपाल, कीर्तिपुर, लहना रेष्टुरा, आदिनाथ स्कुल, असहाय बाल केन्द्र, नेवा एफएम, वडा नागरिक समाज सञ्जाल कीर्तिपुर वडा ६ र १०, आदिनाथ बन, सिर्जनशील समाज लगायतका संस्थाको सक्रिय सहभागिता थियो । समाजसेवीहरु किशोर शाही, चक्र ठकुरी, राजमान मानव, विष्णु फुयाँल, इन्द्र कार्की, अंगुर कार्की, लब कार्की, गोपाल कार्की, प्रवीण खड्का, राजेन्द्र वैष्णव, डा. लक्ष्मी पौडेल लगायतले फोहोर संकलनमा सक्रियता देखाएका थिए । 

बिहान ७ देखि ९ बजेसम्म चलेको सफाइ अभियानमा काठमाडौं महानगरपालिकाले गाडी, थुन्से, चालक आदि उपलब्ध गराएको थियो ।