फोनिजले ६ जना पत्रकारलाई सम्मान गर्ने


काठमाडौं।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मान गर्न लागिएको हो।

फोनिज कार्यवाहक (कावा) महासचिव समीर बलामीका अनुसार पुरस्कार छनोट समितिको सिफारिस अनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पाराई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ ।

सोही अनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ कास्कीलाई सम्मान गरिनेछ। सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र छ ।

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिए ।

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मातृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दै आएको छ।फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताए । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो।