मोटरसाइकल चोरीमा संलग्न तीनजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बागमती गाउँपालिका ३ घर भएका २१ वर्षीय प्रेम बहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा फेला परेको प्रदेश २ -०२-०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित भट्टराई र राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्दा वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प २५ १३ रहेको मोटरसाइकल पाख्रिनबाट लिएको खुल्न आएको छ।

उक्त मोटरसाइकल काठमाडौंको माछापोखरीबाट यही साउन २३ गते हराएको भनि खोजतलासको लागि श्याम लाल लोप्चन तामाङले निवेदन दिएका थिए । अनुसन्धान तथा खोजतलासको क्रममा पाख्रिनलाई भक्तपुरको कौशलटारबाट बागमती प्रदेश ०२-०४९ प ०२ ०९ नम्बरको KTM Duke मोटरसाकल र लक तोड्न प्रयोग हुने औजार सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल यही साउन २२ गते भक्तपुरको लोकन्थलीबाट हराएको भनी कैलाश लोक्ताम लिम्बुले खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।