मोटरसाइकल चोरीमा संलग्न एकजना प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

काठमाडौँको काठमाडौँ महानगरपालिका ६ तीनचुली बौद्धबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई विहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी बस्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ४ डाँडाजेरुका २२ वर्षीय आकाश राईलाई बागमती प्रदेश-०२-०३० प ८२ ७३ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको धुम्बाराही स्थित जोरकुवाबाट बागमती प्रदेश ०२-०२९ प ९०२१ नम्बरको मोटरसाइकल हराएको भनी कपन बस्ने सिन्धुपाल्चोकका अनिल दङ्गालले खोजतलासका लागि २०७९ सालको साउन १९ गते निवेदनका दिएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा राईलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।