हेटौँडाका तीर्थयात्री वीरगन्जमा कुटिए


हेटौंडा।

 वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।

 बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।

गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।

 सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।

त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।

 उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।

बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।