रौतहटमा नक्कली प्रहरी पक्राउ


रौतहट ।

 सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । उनलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको थियो । सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो । 

हाल आरोपी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 -सञ्जय मिश्रा